1 त्यसैबेला एकदिन येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा मुख्य पूजाहारीहरू र शास्त्रीहरू, धर्म-गुरूहरूका साथमा येशूकहाँ आए । 2 यसो भन्दै तिनीहरूले उहाँसित कुरा गरे, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?” 3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले मलाई बताओ । 4 यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट?” 5 अनि तिनीहरूले आपसमा यसो भन्दै बहस गरे, “यदि हामीले 'स्वर्गबाट' भन्यौं भने, ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन् । 6 तर यदि हामीले 'मानिसहरूबाट' भन्यौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गरेका छन् ।” 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।” 9 उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाएर खेतालाहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती खेतालाहरूकहाँ पठाए । तर ती खेतालाहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्जत गरी रित्तै हात पठाए । 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए । 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ 14 तर खेतालाहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौं र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? 16 तिनी आएर ती खेतालाहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!” 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “लेखिएको यो भनाइको अर्थ के हो? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बनेको छ ।’ 18 त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यो धूलोपिठो हुनेछ ।” 19 त्यसकारण, शास्त्रीहरू र मुख्य पूजाहारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे । 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । 21 तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं ठिक बोल्नुहुन्छ र सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न, तर तपाईंले परमेश्वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ । 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?” 23 तर येशूले तिनीहरूको धूर्त्याइँलाई बुझेर तिनीहरूलाई भन्नुभयो, 24 “मलाई एउटा सिक्का देखाओ, यसमा कसको चित्र र नाम खोपिएको छ?” तिनीहरूले भने, “कैसरको ।” 25 उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे कैसर को हो कैसरलाई देओ, र जे परमेश्वरको हो परमेश्वरलाई देओ ।” 26 मानिसहरूको सामुन्ने तिनीहरूले उहाँले बोल्नुभएका कुरामा उहाँलाई फसाउन सकेनन् । तर उहाँको जवाफमा तिनीहरू छक्क परेर चूप रहे । 27 त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरूमध्ये कोही उहाँकहाँ आए, 28 र उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको पत्नी भएका दाजु मर्यो भने र त्यो निस्सन्तान भएमा भाइचाहिंले दाजुको सन्तान खडा गर्नको लागि दाजुकी पत्नी लैजानुपर्छ । 29 सात भाइ थिए । जेठोले एउटी पत्नी ल्यायो र निस्सन्तान भई मर्यो 30 अनि माहिलो पनि । 31 साहिंलोले पनि त्यसलाई विवाह गर्यो अनि त्यसरी नै ती सातै जना निस्सन्तान भई मरे । 32 पछिबाट त्यो स्त्री पनि मरी । 33 यसकारण पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्नीको रूपमा लिएका थिए ।” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “यस संसारका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । 35 तर त्यस युगमा मृतकबाट पुनरुत्थान प्राप्त गर्न योग्य ठहरिएकाहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । 36 तिनीहरू फेरि मर्न सक्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन् । 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए । 38 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।” 39 अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।” 40 त्यसपछि तिनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन् । 41 येशूले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्? 42 किनकि भजनको पुस्तकमा दाऊद आफैंले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’ 44 यसकारण दाऊदले ख्रीष्टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र हुन्छन्?” 45 सबै मानिसहरूले सुन्ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “शास्त्रीहरूदेखि होसियार रहो जो लामा वस्त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् । 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”