1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेकी देख्नुभयो । 2 उहाँले एक जना गरीब विधवाले दुई पैसा भेटी हालेकी देख्नुभयो । 3 यसैले उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी हालेकी छे । 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफ्नो दरिद्रताबाट आफू बाँच्नका लागि जे-जति थियो सबै दिई ।” 5 जसै कोही कोहीले दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको मन्दिरको बारेमा कुरा गर्न लागे, उहाँले भन्नुभयो, 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।” 7 त्यसकारण तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी कुराहरू हुन लाग्दा के-कस्ता चिन्हहरू हुनेछन्?” 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरूलाई धोकामा नदिइयोस् । किनकि धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ । 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।” 10 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “ जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछन् । 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा अनिकाल र महामारी हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशबाट ठुला-ठुला चिन्हहरू हुनेछन् । 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन् र तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ । 14 त्यसकारण तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच । 15 किनकि म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ताकि तिमीहरूका सबै विरोधीहरूले प्रतिरोध वा खण्डन गर्न सक्नेछैनन् । 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिनीहरूले तिमीहरूमध्ये कोहीलाई मृत्युका लागि सुम्पिनेछन् । 17 मेरो नाउँको कारण सबैबाट तिमीहरू घृणित हुनेछौे । 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुनेछैन । 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ । 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्छौ, तब त्यसको विनाश नजिकै छ भनी जान । 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, र जो सहरभित्र छन् तिनीहरू त्यहाँबाट बाहिर भागून्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् । 22 किनकि यी बदला लिने दिनहरू हुन्, ताकि लेखिएका सबै कुराहरू पूरा हुनेछन् । 23 हाय! ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू! किनकि त्यस देशमा ठुलो सङ्कष्ट आउनेछ, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ । 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी बनाएर लगिनेछन्, र गैरयहूदीहरूको समय पूरा नभएसम्म यरूशलेम गैरयहूदीहरूबाट कुल्चिइनेछ । 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूका कारण पृथ्वीमा भएका जातिहरू चिन्तित र व्याकुल हुनेछन् । 26 संसारमा आइपर्न लागेका घटनाहरूका डर र आशङ्काले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डग्मगाउनेछन् । 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन् । 28 तर जब यी कुरा हुन आउनेछन्, तब उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, किनभने तिमीहरूको उद्धार नजिकै आउँदैछ ।” 29 येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “नेभाराको रुखलाई हेर र सबै रुखहरूलाई पनि । 30 जब तिनीहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैंले थाहा पाउँछौ । 31 त्यसैगरी जब तिमीहरूले पनि यी थोकहरू भएको देख्छौ, परमेश्वरको राज्य नजिकै छ भन्ने कुरा तिमीहरूले थाहा पाउँछौ । 32 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन । 33 आकाश र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् । 34 तर तिमीहरू आफ्नो विषयमा होसियार रहो, ताकि तिमीहरूको हृदय मतवालापन र उन्मत्तता र जिवनको चिन्ताले नभरियोस् । नत्रभने त्यो दिन तिमीहरूमाथि पासोझैं अचानक आइपर्ला । 35 किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो आइपर्नेछ । 36 तर हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कन र मानिसका पुत्रका अगाडि खडा हुनलाई बलियो हुन प्रार्थना गर्दै हर समय सतर्क रहो ।” 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो, र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र जैतुनको डाँडामा रात बिताउनुहुन्थ्यो । 38 सबै मानिसहरू उहाँका कुरा सुन्न बिहान सबेरै मन्दिरमा आउँथे ।