1 अखमिरी रोटीको चाड नजिक आइरहेको थियो, जसलाई निस्तार-चाड भनिन्छ । 2 मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए । 3 बाह्र जनामध्ये एक यहूदा इस्करियोतमा शैतान पस्यो । 4 यहुदा मुख्य पूजाहारीहरू र कप्तानहरू कहाँ गयो र यशूलाई तिनीहरूकहाँ कसरी सुम्पन सकिन्छ भन्ने बारेमा तिनीहरूसँग छलफल गर्यो । 5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए । 6 त्यो राजी भयो र त्यसले उहाँ भीडबाट टाढा हुनुहुँदा उहाँलाई तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्न लाग्यो । 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो । 8 येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौं ।” 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?” 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेर, जब तिमीहरू सहरभित्र पस्तछौ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ । 11 तब घरको मालिकलाई भन, 'गुरुले तपाईंलाई भन्नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?'' 12 त्यसले तिमीहरूलाई एउटा सजाइएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ । त्यहीं तयारी गर ।” 13 त्यसैले तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैं हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे । 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो । 15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले कष्ट भोग्नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु । 16 किनकि म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पूरा नभएसम्म मैले फेरि खानेछैनँ ।” 17 तब येशूले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले भन्नुभयो, “यो लेओ, र तिमीहरूका बीचमा बाँड । 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।” 19 तब उहाँले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 त्यसै गरी भोज खानुभएपछि उहाँले यसो भन्दै कचौरा लिनुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ । 21 तर ध्यान देओ । मलाई धोका दिनेचाहिं मसँगै यही टेबुलमा छ । 22 किनकि मानिसका पुत्र त ठहरिए बमोजिम निश्चय नै जानुपर्छ । तर त्यो मानिसलाई धिक्कार होस् जसद्वारा उनलाई विश्वासघात गरिन्छ ।” 23 र तिनीहरूमध्ये यसो गर्ने को होला भनेर तिनीहरू आपसमा छलफल गर्न लागे । 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो गनिने हो भन्नेबारे तिनीहरूबीच झगडा उब्जियो । 25 उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार हुनेहरूलाई उपकारी भनिन्छ । 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिं सबैभन्दा सानोजस्तो होस्, र जो सबैभन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । 27 किनकि कुनचाहिं ठुलो हो? टेबुलमा खान बस्ने, कि सेवा गर्ने? के टेबलमा खान बस्ने होइन र? तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु । 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ । 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु, 30 ताकि मेरो राज्यमा तिमीहरूले मसँगै मेरो टेबुलमा खान र पिउन सक्नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ । 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई गहुँलाई जस्तै निफन्ने अनुमति माग्यो । 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाऊ । 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग झ्यालखाना र मृत्युसम्म पनि जान तयार छु ।” 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आज भाले बास्नेछैन ।” 35 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुराको झोला, वा जुत्ताहरूबिना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।” 36 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अहिले जोसँग पैसाको थैलो छ, त्यसले त्यो बोकोस् र खानेकुराको झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचेर एउटा किनोस् । 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पूरा हुनेछ, ‘उनी अपराधीहरूसित गनिए ।' किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पूरा भइरहेको छ ।” 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पर्याप्त छ ।” 39 सधैंझैं येशू जैतूनको डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए । 40 उहाँहरू पुग्नुभएपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपरोस् ।” 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्न सकिने दूरीमा जानुभयो, र उहाँले घुँडा टेकी यसो भनेर प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस् ।” 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई बलियो बनाए । 44 पीडामा परेर पनि उहाँले अझ जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भूइँमा खसिरहेका थिए । 45 उहाँ प्रार्थना गरी उठेर चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूलाई आफ्ना दुःखको कारणले गर्दा निदाइरहेका भेट्टाउनुभयो, 46 र उहाँले तिनीहरूलाई सोध्नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपरोस् ।” 47 हेर, उहाँ बोलिरहनुहुँदा, बाह्र जनामध्ये एक अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, 48 तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्वासघात गर्छौ?” 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ? ” 50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र त्यसको दाहिने कान काटिदिए । 51 येशूले भन्नुभयो, “भयो! यति नै हुनदेऊ ।” र उहाँले त्यसको कान छुनुभयो, र त्यसलाई निको पार्नुभयो । 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्तानहरू र धर्म-गुरुहरूलाई भन्नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ? 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।” 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए । 55 तिनीहरूले आँगनको बीचमा आगो बालेर सँगै बसेपछि पत्रुस पनि तिनीहरूसँगै बसे । 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले तिनलाई सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।” 57 तर पत्रुसले यसो भनेर इन्कार गरे, “नारी, म उहाँलाई चिन्दिनँ ।” 58 केही बेरपछि अरू कसैले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।” 59 लगभग एक घण्टापछि अर्को मानिसले जोड दिंदै भन्यो, “साँच्चै यी मानिस पनि उनीसँगै थिए, किनभने यिनी पनि एक गालीलबासी हुन् ।” 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र तिनले बोल्दै गर्दा तुरुन्तै भाले बास्यो । 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो, र उहाँले तिनलाई “आज भाले बास्नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” भनेर भन्नुभएको प्रभुको वचन पत्रुसले सम्झे, 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए । 63 तब येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “अगमवाणी गर्! तँलाई कुट्ने को हो?” 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्वर-निन्दाको दोष लगाए । 66 बिहान हुनेबित्तिकै दुवै मुख्य पूजाहारीहरू र शास्त्रीहरू अर्थात् मानिसहरूका धर्म-गुरुहरू एकसाथ भेला भए । तिनीहरूले उहाँलाई परिषद्मा लगे र 67 भने, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधें भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछन् ।” 70 तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरका पुत्र होस्?” येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरू नै भन्नुहुन्छ कि म हुँ ।” 71 तिनीहरूले भने, “हामीलाई किन अझै साक्षीको आवश्यक पर्छ र? किनकि हामी आफैंले त्यसको आफ्नै मुखबाट सुनेका छौं ।”