1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए । 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो जातिलाई भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैंलाई ख्रीष्ट राजा भन्दै गरेको भेट्टायौं ।” 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।” 4 पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।” 5 तर तिनीहरूले जोड दिंदै यसो भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म शिक्षा दिंदै मानिसहरूलाई भड्काउँछ ।” 6 त्यसकारण जब पिलातसले यो सुने, तब तिनले यो मानिस गालीली हुन् कि होइनन् भनी सोधे । 7 जब तिनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्ने थाहा पाए, तिनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए । 8 जब हेरोदले येशूलाई देखे, तिनी धेरै खुसी भए, किनकि तिनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । तिनले उहाँको बारेमा सुनेका थिए र उहाँद्वारा केही आश्चर्यकर्महरू गरिएको हेर्न चाहन्थे । 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले तिनलाई कुनै पनि जवाफ दिनुभएन । 10 मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई आक्रोशित हुँदै दोष लगाउँदै खडा भए । 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्याएर येशूलाई पिलातसकहाँ फर्काइदिए । 12 किनभने हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्काका साथी भएका थिए, किनकि त्यस अगि तिनीहरू एक-अर्काका शत्रु थिए । 13 तब पिलातसले मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए, 14 र तिनीहरूलाई भने, “मानिसहरूलाई खराब काम गर्न अगुवाइ गर्ने मानिसको रूपमा तिमीहरूले यी मानिसलाई मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गर्दा, तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।” 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि तिनले यिनलाई हामीकहाँ फिर्ता पठाए र हेर, यिनले मृत्युदण्ड पाउने योग्य कुनै काम गरेका छैनन् । 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिनेछु ।” 17 1 18 तर तिनीहरू सबै यसो भन्दै एकसाथ कराए “यस मानिसलाई हाम्रा बीचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।” 19 बारब्बा सहरमा भएको कुनै विद्रोह र हत्याको कारण झ्यालखानमा राखिएको एक मानिस थिए । 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे । 21 तर तिनीहरू यसो भन्दै चिच्च्याए, “त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस् ।” 22 तिनले तेस्रो पटक तिनीहरूलाई भने, “किन? यो मानिसले के दुष्ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु ।” 23 तर तिनीहरूले येशूलाई क्रुसमा टाँग्ने माग गर्दै उच्च स्वरमा जिद्दी गरे । र तिनीहरूका आवाजले पिलातसलाई राजी गरायो । 24 त्यसकारण पिलातसले तिनीहरूका माग पूरा गरिदिने निर्णय गरे । 25 त्यसैले तिनीहरूले माग गरेअनुसार सहरमा आतङ्क र हत्याको कारण झ्यालखानामा राखिएकोलाई तिनले छोडिदिए, तर येशूलाई तिनीहरूको इच्छामा तिनले सुम्पिदिए । 26 तिनीहरूले उहाँलाई लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर तिनीहरूले त्यसलाई येशूलाई पछ्याउदै क्रूस बोक्न लगाए । 27 मानिसहरूको एउटा ठुलो भीड र उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए । 28 तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ । 29 किनभने हेर, दिनहरू आउँदैछन् जसमा तिनीहरूले भन्नेछन्, ‘बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’ 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्न थाल्नेछन्, ‘हामीमाथि खस्,’ र डाँडाहरूलाई भन्नेछन्, ‘हामीलाई छोप् ।’ 31 किनकि यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?” 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएका थिए । 33 जब तिनीहरू खप्परे भन्ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँलाई र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई उहाँको बायाँतर्फ क्रूसमा टाँगे । 34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गरेर चिट्ठा हाले । 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला गरिगहेका थिए, “यसले अरूलाई त बचायो । यदि यो परमेश्वरका ख्रीष्ट, चुनिएका जन हो भने, आफैंलाई बचाओस् ।” 36 अनि सिपाहीहरूले पनि नजिक आएर उहाँलाई सिर्का दिँदै यसो भन्दै गिल्ला गरे, 37 “यदि तँ यहूदीहरूका राजा होस् भने, आफैंलाई बचा ।” 38 “यो यहूदीहरूको राजा हो" भन्ने एउटा चिन्ह पनि उहाँको माथि थियो । 39 क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जनाले यसो भन्दै उहाँको गिल्ला गर्यो , “के तिमी ख्रीष्ट होइनौ? आफैंलाई र हामीलाई बचाऊ ।” 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्वरको डर मान्दैनस्, किनकि तैंले पनि उही दण्ड भोगिरहेको छस्? 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौं, किनकि यहामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौं । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।” 42 र त्यसले भन्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” 43 येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।” 44 यो छैठौं घडीको बेला थियो, र नवौं घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो । 45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बीचबाट च्यातियो । 46 येशूले उच्च स्वरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्नुभयो ।” 47 जब कप्तानले यो भएको देखे, तिनले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी एक धार्मिक मानिस थिए ।” 48 यो दृश्य हेर्न आएका सबै भीडले त्यहाँ भएका घटनाहरू देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के । 49 तर उहाँलाई चिन्ने सबै मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए । 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए, जो परिषद्का एक सदस्य थिए । तिनी एक असल र धार्मिक मानिस थिए । 51 तिनी परिषद्का निर्णय र तिनीहरूका क्रियाकलापसँग सहमत थिएनन् । तिनी यहूदियाको अरिमाथिया सहरबाटका थिए, जसले परमेश्वरको राज्यको प्रतिक्षा गरिरहेका थिए । 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे । 53 तिनले त्यो तल झारे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन । 54 यो तयारीको दिन थियो, र विश्रामको दिन सुरु हुनै लागेको थियो । 55 गालीलदेखि येशूको साथमा आएका स्त्रीहरूले पछ्याउँदै आएका स्त्रीहरूले पछ्याए र त्यो चिहान हेरे र उहाँको शरीर कसरी राखिएको थियो, त्यो देखे । 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्रामको दिनमा तिनीहरूले विश्राम गरे ।