24

1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर तिनीहरू चिहानमा आए । 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए । 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् । 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलो वस्‍‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए । 5 ती स्‍‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍‍त्रीहरूलाई भने, “किन तिमीहरू जीवितलाई मृतकहरूका बीचमा खोज्छौ? 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा नै हुनुहुँदा तिमीहरूलाई यसो भन्‍नुभएको सम्झ, 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।” 8 तब ती स्‍‍त्रीहरूले उहाँका वचनलाई सम्झे 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र बाँकी सबैलाई बताइदिए । 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्‍‍त्रीहरूले प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए । 11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लाग्यो, र तिनीहरूले ती स्‍‍त्रीहरूलाई विश्‍वास गरेनन् । 12 यद्यपि पत्रुस उठे, र चिहानतिर दौडेर गए, र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस जे भएको थियो त्यसमा अचम्म मान्दै आफ्नो घर तर्फलागे । 13 हेर, तिनीहरूमध्ये दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी स्टेडिया टाढा थियो । 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे । 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैं तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो । 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए । 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिंड्दै गर्दा के को विषयमा कुरा गरिरहेछौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए । 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ?” 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, परमेश्‍वर र सबै मानिसहरूको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो, 20 र कसरी मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रूसमा टाँगे । 21 तर इस्राएललाई उद्धार गर्न गइरहेको एक जना उहाँ ने हुनुहुन्थ्यो भनी हामीले आशा राखेका थियौं । यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो । 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍‍त्रीहरूले हामीलाई आश्‍चर्यचकित पारे, । 23 तिनीहरूले उहाँको शरीरलाई नभेट्टाउँदा, तिनीहरू यसो भन्दै आए कि, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि पाए, जसले उहाँ जीवित हुनुहुन्‍थ्यो भने । 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।” 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र अगमवक्‍ताहरूले भनेका सबै कुराहरूमा विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो! 26 के ख्रीष्‍टले यी कुराहरू भोग्‍न र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र?” 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍‍त्रमा आफ्नो विषयमा भनिएका कुराहरू येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो । 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्दा येशूले अझै पर जानेजस्तै गर्नुभयो । 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले येशू तिनीहरूसँगै बस्‍न भित्र जानुभयो । 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ दिनुभयो र त्यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो । 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका द‍ृष्‍टिबाट हराउनुभयो । 32 तिनीहरूले एक अर्कालाई भने, "उहाँ हामीसँग बाटोमा बोल्नुहुँदा, उहाँले हामीलाई धर्मशास्‍‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भइरहेको थिएन र?" 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना र उनीहरूसँग भएकाहरूलाई जम्मा भएर यसो भनिरहेका भेट्टाए, 34 “साँच्‍चै प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।” 35 त्यसकारण बाटोमा भएका कुराहरू तिनीहरूले बताए र येशूले रोटी भाँच्‍ने बेलामा आफूलाई तिनीहरूकहाँ कसरी प्रकट गर्नुभयो, सो पनि बताए । 36 जसै तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैं तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र तिनीहरूले एउटा आत्मा देखे भनी ठाने । 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍नहरू उठ्छन्? 39 मेरा हात र खुट्टा हेर, यो म आफैं हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले ममा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?” 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए, 43 र उहाँले त्यो लिनुभयो, र तिनीहरूकै सामु खानुभयो । 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्‍‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो । 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नुपर्छ, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुपर्छ । 47 यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँदैछु । तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा बस ।” 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म येशूले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हात उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो । 51 त्यसपछि उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै गर्नुहुँदा उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो । 52 त्यसैले तिनीहरूले उहाँको आराधना गरे र बडो आनन्दसाथ यरूशलेम फर्के । 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।