अध्याय ३

1 अन्त्यमा मेरा भाइहरू हो, प्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन र याे कुराले तिमीहरूलाई सुरक्षित राख्‍छ । 2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । विकृति गर्नेहरूदेखि होसियार रहो । 3 किनकि खतना हामीहरू नै हौं—हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्छौं, हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्छौं, र शरीरमा कुनै भरोसा राख्दैनौं । 4 यद्यपि, म आफैंले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु । 5 मेरो आठौं दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिं, एक फरिसी । 6 जोशकाे लागि मैले मण्डलीलाई सताएँ; व्यवस्थाको धार्मिकताको विषयमा चाहिं म दोषरहित थिएँ । 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु । 8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । म ती कुराहरूलाई काम नलाग्‍ने ठान्छु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ, 9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैंले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन परमेश्‍वरबाटकाे धार्मिकता विश्‍वासद्वारा मैले प्राप्‍त गरेको हुँ । 10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु, 11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ । 12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने होइन, तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु । 13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिं म गर्छुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दै, 14 ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु । 15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौं; र यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्छौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ । 16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौं, हामी त्यसमा अडिग रहौं। 17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिंड्नेहरूलाई ध्यान दिएर हेर । 18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको छु, र अहिले आँसुका साथ म बताउँदैछु, कि तिनीहरू ख्रीष्‍टको क्रूसका शत्रुहरूझैं हिंडिरहेका छन् । 19 तिनीहरूको अन्त्य विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको महिमा तिनीहरूको शर्ममा छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्छन् । 20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको पनि प्रतीक्षा गर्छौं । 21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।