1 यदि ख्रीष्टमा केही उत्साह छ भने , यदि उहाँको प्रेमबाट केही सान्त्वना मिल्छ भने, यदि त्यहाँ पवित्र आत्माको केही सङ्गती छ भने, यदि त्यहाँ केही स्नेही करुणा र सहानुभूति छ भने । 2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पूरा गर । 3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान । 4 तिमीहरू प्रत्येकले आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान देओ । 5 तिमीहरुमा त्यही मन हाेस्, जुन ख्रीष्ट येशूमा पनि थियो । 6 उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैं ठान्नुभएन । 7 बरु, उहाँले कमाराको रूप धारण गरेर आफैंलाई रित्त्याउनुभयो र उहाँ मानिसको स्वरूपमा जन्मनु भयो । 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो! 9 यसकारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडा टेक्नुपर्छः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ । 12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैं आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितिमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पूरा गर । 13 किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा गर्न र काम गर्न लगाउनलाई तिमीहरूमा काम गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । 14 गनगन नगरी वा बहसविना सबै कामहरू गर, 15 ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र शुद्ध छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, कि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबीच यस संसारमा ज्योतिझैं चम्कन्छाैं । 16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा म गर्वसँग भन्न सकूँ कि म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन । 17 तर तिमीहरूको विश्वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म खुशी हुन्छु, र म तिमीहरू सबैसँग आनन्द मनाउँछु । 18 त्यसै गरी, तिमीहरू पनि खुशी होओ, र मसँगै आनन्दित होओ । 19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति म प्रभु येशूमा आशा राख्छु, ताकि तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ । 20 किनकि तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा चिन्तित हुने मसँग अरू कोही पनि छैन । 21 किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्छन् । 22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनभने जसरी छाेराले आफ्ना पिताको सेवा गर्छ, त्यसरी नै सुसमाचारमा तिनले मसँगै सेवा गरे । 23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिनलाई तिमीहरूकहाँ पठाउने आशा गर्छु । 24 तर म आफैं पनि छिट्टै आउनेछु भन्ने कुरामा प्रभुमा निर्धक्क छु । 25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्छु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् । 26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरू सबैसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए । 27 किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र तिनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो । 28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदैछु, ताकि जब तिमीहरूले तिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र मलाई कम शाेक हाेस्। 29 सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर । 30 किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पूरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।