अध्याय १

1 ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा,परमेश्‍वरका पबित्र जनहरू सबै, अनि बिशप र डिकनहरूलाई । 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति । 3 हर समय तिमीहरूको सम्झना गर्दा, 4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा, आनन्दसाथ प्रार्थना गर्दै, 5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु । 6 म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई सुरु गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पूरा गर्न निरन्तरता दिनुहुनेछ । 7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनभने मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ । 8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरू सबैका निम्ति कति तृष्णा गर्छु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । 9 मेरो प्रार्थना यही छ, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झन्‌झन् प्रशस्त हुँदै जाओस् । 10 ताकि जे असल छ ती कुराहरू तिमीहरूले स्वीकार गर्न सक ,र तिमीहरू ख्रीष्‍टको दिनमा इमान्दार र दोषरहित भई 11 परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक । 12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि ममथि घटेका यी सबै कुराहरूले सुसमाचारलाई साँच्चै अगाडि बढाउने काम भएको छ । 13 फलस्वरूप, ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ । 14 धेरै भाइहरू मेरा साङ्लाहरूका कारण परमप्रभुमा अझ बढी विश्‍वस्त भएका छन् र निडर भएर वचन बोल्न आँटिला भएका छन् । 15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावमा पनि ख्रीष्‍टको प्रचार गरेका छन् । 16 काेही-काेही ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जानेर याे काम प्रेमले गर्छन् । 17 तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्छन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिनेछन् भनी तिनीहरू विचार गर्छन् । 18 त्यसो भए के त ? चाहे बहानामा होस् वा सत्यतामा हरेक तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँछु । हो, म रमाउनेछु । 19 किनकि मलाई थाहा छ, कि तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताद्वारा परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । 20 मेरो उत्कट अपेक्षा र आशा याे हाे कि, म शर्ममा पर्नेछैनँ, बरु सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ । 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो । 22 तर यदि म शरीरमा नै जिउनु हो भने त्यो मेरो लागि फलदायी परिश्रम हुनेछ तर, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन । 23 किनकि यी दुवै कुराहरूका बीचमा म कडा दबाबमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्छु, जुनचाहिं अति असल कुरा हो, 24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिं धेरै आवश्यक छ । 25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सबै सँग-सँगै रहेर निरन्तरता दिनेछु, 26 ताकि जब म तिमीहरूकहाँ फेरि आउँछु, ममा तिमीहरूले प्रभु येशूमा गर्व गर्ने कारणहरू प्रशस्त होऊन् । 27 ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर, ताकि चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, म तिमीहरूका बारेमा याे सुन्‍न पाऊँ, कि तिमीहरू एउटै आत्मामा द‍ृढ भएर खडा भएका छौ र सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै मनको भएर कडा परिश्रम गरिरहेका छौ । 28 तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको तर तिमीहरूको निम्ति मुक्‍तिको चिन्ह हो, र यो परमेश्‍वरबाट आएको हो । 29 किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई सिेत्तैंमा दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि । 30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्छौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।