1 यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्छु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो । 2 म इयोदियालाई र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दैछु । 3 वास्तवमा, मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर जसले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् । 4 प्रभुमा सधैं आनन्द गर । म फेरि पनि भन्छु, आनन्द गर । 5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ । 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् । 7 र सबै समझभन्दा उच्च परमेश्वरको शान्तिले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ । 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर । 9 जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्त गर्यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ । 10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन । 11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । किनकि मैले सबै परिस्थितिहरूमा सन्तुष्ट हुन सिकेको छु । 12 मलाई गरिबी के हो भन्ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्त गर्नु वा आवश्यकतामा हुनु भन्ने गाेप्य कुरा मैले सिकेको छु । 13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्छु । 14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्यौ । 15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्कें, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् । 16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ । 17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्छु । 18 मैले सबै कुराहरू पूरा प्राप्त गरेको छु, र मसँग ती प्रशस्त छन् । म अहिले पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने, ग्रहणयोग्य र परमेश्वरलाई प्रसन्न पार्ने बलिदान हुन् । 19 मेरा परमेश्वरले ख्रीष्ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पूरा गरिदिनुहुनेछ । 20 अब हाम्रा परमेश्वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन । 21 ख्रीष्ट येशूमा भएका सबै परमेश्वरका पवित्र जनहरूहरूलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 22 यहाँ भएका सबै परमेश्वरका पवित्र जनहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 23 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । 1