अध्याय ४

1 यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । किनकि जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ । 2 परिणामस्वरूप त्यो व्यक्‍ति शरीरमा हुँदाको बाँकी समय, मानवीय अभिलाषाको निम्ति होइन, तर परमेश्‍वरको इच्छाको निम्ति जिउँछ । 3 गैर-यहूदीहरूले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मद्यले मातेर मनाइएका उत्सवहरू, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा तिमीहरूले धेरै समय खर्च गरेका छौ । 4 तिमीहरू यी लापर्वाह व्यवहारको बाढीहरूमा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन्, त्यसैले तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् । 5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । 6 त्यसैले मरिसकेकाहरूलाई पनि यो सुसमाचार प्रचार गरिएको थियो ताकि शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वर जसरी आत्मामा जिऊन् । 7 सबै कुराको अन्त्य आउँदैछ । त्यसैले मन ठिक ठाउँमा लगाओ र प्रार्थनाका खातिर आफ्नो विचारमा सचेत रहो । 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले धैरै पापहरूलाई ढाक्छ । 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर । 10 जसरी तिमीहरू प्रत्येकले वरदान पाएका छौ, यसको विभिन्‍न रूपहरूमा परमेश्‍वरको अनुग्रहको विश्‍वासयोग्यताका साथ व्यवस्थापन गर्दै, यसलाई एक-अर्काको सेवाको लागि प्रयोग गर । 11 यदि कोही बोल्‍छ भने त्यसले परमेश्‍वरको वचनद्वारा बोलोस् । यदि कसैले सेवा गर्छ भने त्यसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस् ।यी कुराहरू गर ताकि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । येशू ख्रीष्‍टलाई नै महिमा र शक्‍ति सदासर्वदा होस् । आमेन । 12 प्रिय हो, तिमीहरूलाई केही अनौठो कुरा भइरहेजस्तै तिमीहरूलाई परेको अग्‍निमय परीक्षालाई अनौठो नसम्झ । 13 बरु जति धेरै तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि रमाउन र आनन्द मनाउन सक्‍नेछौं । 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित हुन्छौ भने तिमीहरू धन्यका हौ, किनभने महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् । 16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने त्यसले लाज नमानोस्; बरु त्यही नाममा परमेश्‍वरको महिमा गरोस् । 17 किनकि यो परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको सुसमाचार नमान्‍नेको अवस्था कस्तो होला? 18 अनि “धर्मी जनको उद्धार हुनु नै कठिन छ भने, अधर्मी र पापीको अवस्था के होला?” 19 त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो प्राण विश्‍वासयोग्य सृष्‍टिकर्तालाई सुम्पून् ।