1 सङ्गी-एल्डर र ख्रीष्टका कष्ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दैछुः 2 तिमीहरूको हेरचाहमा रहेको परमेश्वरको बगालको गोठालो होओ, निरीक्षकको रूपमा सेवा गर्दै—करले होइन तर तिमीहरूका आफ्नै र परमेश्वरको इच्छाअनुसार—बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर । बरु, बगालको लागि उदाहरण बन । 4 तब मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ । 5 त्यसैगरी, तिमी युवकहरू, वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले, विनम्रताको वस्त्र धारण गर र एक-अर्काको सेवा गर । किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ । 6 त्यसकारण उहाँको शक्तिशाली बाहुलीमुनि आफैंलाई नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ । 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँलाई सुम्पिदेओ किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । 8 सचेत रहो, जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैं खोजिरहेको छ । 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्वासमा दह्रिलो बन । तिमीहरू जान्दछौ कि संसारमा भएका तिमीहरूका समुदायका विश्वासीहरू पनि यस्तै कष्टहरू भोगिरहेका छन् । 10 तिमीहरूको केही समयको कष्टपछि, तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । 11 उहाँलाई नै सबै शक्ति सदासर्वदा भइरहोस् । आमेन । 12 म सिलासलाई विश्वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्दैछु र तिमीहरूलाई साक्षी दिंदैछु कि मैले लेखेको कुरा परमेश्वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ । 13 बेबिलोनमा भएकी, तिमीहरूसँगै चुनिएकी स्त्रीले र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन् । 14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्टमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।