1 यसरी नै पत्नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्न सकिन्छ । 2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई सम्मानसाथ हेर्नेछन् । 3 यो केशको श्रङ्गार, सुनका गरगहनाहरू वा श्रङ्गारका वस्त्रहरूजस्ता बाहिरी सजावटद्वारा नगर । 4 बरु हृदयको भित्री व्यक्तिद्वारा र भलो र शान्त आत्माको सदैव रहने सौन्दर्यद्वारा यसो गर जुन परमेश्वरको सामु अनमोल छ । 5 किनकि पहिले यसरी नै परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले आफ्ना पतिहरूका अधीनमा रहेर आफ्नो श्रङ्गार गर्थे । 6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ । 7 त्यसरी नै पतिहरू हो, तिमीहरू आफ्ना पत्नीहरूलाई कमजोर भाँडाजस्तै भएकी एक स्त्री सम्झेर तिनीहरूसँग बस्नुपर्छ । तिमीहरूले जीवनको अनुग्रह प्राप्त गर्ने सङ्गी साझेदारजस्तै तिनीहरूलाई आदर दिनुपर्छ । यसो गर ताकि तिमीहरूका प्रार्थनामा अवरोध नहोस् । 8 अन्त्यमा, तिमीहरू सबै एकै मनका, दयावान्, दाजुभाइहरूजस्तै प्रेमिलो, कोमल हृदयका र नम्र होओ । 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनभने तिमीहरू यसैको निम्ति बोलाइएका हौ कि तिमीहरूले आशिष् प्राप्त गर्न सक । 10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्ने इच्छा गर्छ त्यसले आफ्नो जिब्रोलाई खराबबाट र त्यसका ओठहरूलाई छली कुरा बोल्नबाट रोक्नुपर्छ । 11 त्यो खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । त्यसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् । 12 प्रभुका आँखाहरूले धर्मीलाई देख्छन्, उहाँका कानहरूले तिनीहरूका निवेदनहरू सुन्छन् । तर प्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।” 13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ? 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्छौ भने तिमी आशिषित् छौ । तिनीहरू डराउने कुरादेखि नडराओ । हतास नहोओ । 15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरूसँग भएको आशाको बारेमा सोध्ने हरेकलाई जवाफ दिन सधैं तयार बस । यो नम्रता र आदरपूर्वक गर । 16 असल विवेक कायम राख ताकि ख्रीष्टमा तिमीहरूका असल जीवनको निन्दा गर्नेहरू लाजमा परून्, किनभने तिनीहरूले तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् मानौं तिमीहरू दुष्ट मानिसहरू थियौ । 17 यदि परमेश्वरले इच्छा गर्नुहुन्छ भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु, त्यो असल हो । 18 ख्रीष्टले पनि पापहरूका निम्ति एकै पटक दुःख भोग्नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ पवित्र आत्मामा जीवित पारिनुभयो । 19 पवित्रआत्माद्वारा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो । 20 नोआको समयमा जहाज बनाइँदै गरेका दिनहरूमा परमेश्वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्वरले केही मानिसहरू—आठ आत्माहरूलाई— पानीबाट बचाउनुभयो । 21 यो अहिले तिमीहरूलाई बचाउने बप्तिस्माको एउटा सङ्केत हो—जुनचाहिं शरीरबाट फोहोर सफा गरेजस्तो नभई—येशू ख्रीष्टको पुनरुत्थानद्वारा परमेश्वरमा असल विवेकको निवेदनको रूपमा हो । 22 ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरू उहाँमा झुक्नुपर्छ ।