10

1 येशूले आफ्‍ना बाह्रजना चेलाहरूलाई आफूकहाँ आउन भन्‍नुभयो । तब मानिसहरूलाई अधीन गरेका दुष्‍ट आत्माहरू निकाल्नलाई उहाँले तिनीहरूलाई शक्‍ति दिनुभयो । सबै किसिमका रोगहरू लागेका वा हर तरहले बिरामी भएका मानिसहरूलाई निको पार्न पनि उहाँले तिनीहरूलाई सक्षम बनाउनुभयो । 2 यहाँ बाह्रजना चेलाहरूको नामावली यसप्रकार छन्, जसलाई उहाँले प्रेरितहरू भन्‍नुभयो । तिनीहरूमा सिमोन जसलाई उहाँले पत्रुस भनेर नयाँ नाम दिनुभयो; पत्रुसको भाइ अन्द्रियास; जब्दियाको छोरा याकूब; याकूबको भाइ यूहन्‍ना; 3 फिलिप; बारथोलोमाइ; थोमा; कर उठाउँने मत्ती; अल्फायसका छोरा याकूब; थेदियस; 4 सिमोन कननी; र यहूदा इस्करियोत, जो येशूको विश्‍वसघाती भयो र अधिकारीहरूलाई उहाँलाई देखायो जसले गर्दा तिनीहरूले उहाँलाई गिरफ्‍तार गर्न सके । 5 येशू आफ्‍ना बाह्रजना प्रेरितहरूलाई विभिन्‍न ठाउँहरूमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँन तयार गर्नुहुँदा, उहाँले तिनीहरूलाई यी सझावहरू दिनुभयोः “गैर-यहूदीहरू बसोबास गर्ने ठाँउमा वा सामरीहरू बसोबास गर्ने नगरहरूमा नजाओ । 6 त्यसको सट्टोमा, इस्राएलका मानिसहरूकहाँ जाओ; तिनीहरू आफ्‍ना गोठालो हराएका भेडाहरूजस्ता छन् । 7 जब तिमीहरू तिनीहरूकहाँ जान्‍छौ, परमेश्‍वरले स्‍वर्गबाट चाँडैनै राज्‍य गर्नुहुने छ भनी तिनीहरूलाई घोषणा गर । 8 बिरामी मानिसहरूलाई निको पार, मरेका मानिसहरूलाई जीवित पार, कुष्‍ट रोग भएका मानिसहरूलाई निको पार र तिनीहरूलाई समाजमा ल्‍याओ, र भुत आत्माहरूलाई तिनीहरूले अधीन गरेका मानिसहरूबाट भगाओ । मानिसहरूलाई सहायता गरेकोमा पैसा लिँदै नलेओ, किनभने परमेश्‍वरले तिमीहरूलाई सहायता गर्नुभएको लागि उहाँले तिमीहरूबाट कुनै कुरा लिनुभएन । 9 तिमीहरूसँग पैसा लाँदै नलैजाओ, 10 न त तिमीहरूका सामान भएको झोला । एउटा जगेडा अलखा पनि नलैजाओ, न त तिमीहरूले लगाएको बाहेक जगेडा चप्पल, न त एउटा टेक्‍ने लौरो । हरेक कामदारले जसको काम गर्छ त्‍यसबाट उसले ज्याला पाउनुपर्छ, यसैले जुन मनिसहरूका लागि तिमीहरू जान्‍छौ तिनीहरूबाट तिमिहरुले भोजन पाउनुपर्छ । 11 तिमीहरू जुन नगर वा गाउँमा पस्‍छौ, त्‍यहाँ एकजना व्‍यक्तिलाई भेट्टाओ जसले तिमीहरूलाई आफ्‍नो घरमा राख्‍ने इच्‍छा गर्छ । 12 तिमीहरू त्यस घरमा जाँदा, त्‍यस घरमा बस्‍ने मनिसहरूलाई भलाइ गर्न परमेश्‍वरमा विन्‍ती गर । तिमीहरूले त्यो नगर वा गाउँलाई छोडेर नगएसम्‍म त्‍यस घरमा बस । 13 त्यस घरमा बस्‍ने मानिसहरूले तिमीहरूलाई राम्ररी स्‍वागत गरे भने, परमेश्‍वरले साँच्‍चै नै तिनीहरूको भलाइ गर्नुहुने छ । तर तिनीहरूले तिमीहरूलाई राम्ररी स्‍वागत गरनन् भने तिमीहरूको प्रार्थनाले तिनीहरूलाई सहायता हुने छैन, र परमेश्‍वरले तिनीहरूको भलाइ गर्नुहुने छैन । 14 कुनै घरमा वा नगरमा बसोबास गर्ने मानिसहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, न त तिमीहरूका सन्‍देश सुन्‍छन् भने, त्यो ठाउँ छोडेर जाओ । तिमीहरूले छोडेरे जानलाग्‍दा, आफ्‍ना पाउहरूका धुलो झार । त्‍यसो गरेर, जसरी तिमीहरूले भनेका कुराहरूलाई तिनीहरूले इन्कार गरे त्‍यसरी नै परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुने छ भनी तिमीहरूले तिनीहरूलाई चेतावनी दिने छौ । 15 यो कुरा होसियाररूपमा ध्‍यान देओः परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुँदा, उहाँले सदोम र गमोरामा बसोबास गरेका दुष्‍ट मानिसहरूलाई दण्ड दिनुहुने छ । तर कुनै सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने, परमेश्‍वरले तिनीहरुलाई झन् बढी असह्‍यरूपमा दण्‍ड दिनुहुने छ । 16 ध्‍यान देओः जब म तिमीहरूलाई पठाउँछु, ब्वाँसाहरूजस्‍ता खतरनाक मानिसहरूका माझमा तिमीहरू भेंडाहरूजस्तै असाहाय हुने छौ । यसैले सर्पहरू होसियार भएजस्‍तै होशियार होओ र परेवाहरू हानिरहीत भएझैँ तिनीहरूका निम्‍ति सिधासादा होओ । 17 अझ अरू, त्‍यस्‍ता मानिसहरूबाट सुरक्षित बस किनभने तिनीहरूले तिमीहरुलाई गिरफ्‍तार गर्ने छन् र तिमीहरूको न्‍यायिक जाँचबुझको लागि तिमीहरूलाई शासकीय परिषदहरूका सदस्‍यहरूकहाँ लैजाने छन् । तिनीहरूले तिमीहरूलाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउने छन् । 18 र तिमीहरू मेरा भएका कारणले तिमीहरूको न्‍यायिक जाँचबुझ गर्न र तिमीहरूलाई दण्‍ड दिनको लागि तिनीहरूले तिमीहरूलाई गवर्नरहरू र राजाहरूका सामु लाने छन् । तर तिमीहरूले मेरो बारेमा ती शासकहरू र अन्‍य गैर-यहूदीहरूलाई साक्षी दिने छौ । 19 जब ती मानिसहरूले तिमीहरूलाई गिरफ्‍तार गर्ने छन्, तिमीहरूले तिनीहरूलाई भन्‍नुपर्ने कुराका बारेमा चिन्तित नहोओ किनभने तिमीहरूले भन्‍नुपर्ने शब्‍दहरू तिमीहरूलाई आउने छ । 20 के भन्‍नुपर्ने त्‍यो निर्णय गर्ने तिमीहरू हुने छैनौ । तर त्यसको सट्टोमा, स्वर्गका पिताको आत्माले जे तिमीहरूलाई बोल्न भन्‍नुहुने छ त्‍यो तिमीहरू भन्‍ने छौ । 21 तिनीहरूले तिमीहरूलाई मार्न अधिकारीहरूकहाँ लाने छन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ । उदाहरणको लागि, मानिसहरूले आफ्ना दाजुभाइलाई त्‍यसो गर्ने छन् र बुबाहरूले आफ्‍ना छोराछोरीलाई त्‍यसो गर्ने छन् । छोराछोरीले आफ्ना बुबाआमाका विरुद्ध विद्रोह गर्ने छन् र तिनीहरूलाई मार्ने छन् । 22 धेरैजना मानिसहरूले तिमीहरूलाई घृणा गर्ने छन् किनभने तिमीहरू मलाई विश्‍वास गर्छौ । तर आफ्‍नो मृत्युसम्म विश्‍वासयोग्यरूपमा मलाई विश्‍वास गर्ने कोही पनि छन् भने, परमेश्‍वरले त्‍यस्‍ता मानिसहरूलाई बचाउनुहुने छ । 23 जब कुनै एउटा सहरमा भएका मानिसहरूले तिमीहरूलाई दुःख दिन्छन्, तब अर्को सहरमा भाग । यो कुरा ध्‍यान देओः तिमीहरूले इस्राएलको सबै ठाउँमा एउटा नगरबाट अर्को नगरमा पुग्‍नु र मानिसहरूलाई मेरो बारेमा प्रचार गरेर सिध्‍याउनुभन्दा पहिले नै म, मानिसको पुत्र, निश्‍चितरूपमा पृथ्‍वीमा फर्किनेछु । 24 एकजना चेलाले आफ्‍नो गुरुभन्‍दा महान हुने आशा गर्नुहुँदैन, र सेवकहरू आफ्‍ना मालिकहरूभन्दा वरिष्‍ठ हुँदैनन् । 25 मानिसहरूले आफ्‍ना गुरुलाईभन्दा बढी असल व्‍यवहार विद्यार्थीलाई गर्ने छन् वा तिनीहरूले आफ्‍ना मालिकलाई भन्दा बढी असल व्यवहार सेवकलाई गर्ने छन् भनी तिमीहरूले आशा गर्नु हँदैन । त्यसरी नै, म तिमीहरूको शिक्षक र मालिक भएको कारणले, मानिसहरूले तिमीहरूलाई दुर्व्यवहार गर्ने आशा तिमीहरू गर्न सक्छौ, किनभने तिनीहरूले मलाई दुर्व्यवहार गरे । म एउटा घरानाको शासकजस्तो हुँदा पनि तिनीहरूले शैतान भन्छन् । तिनीहरू मलाई त्‍यस्तो खराबरूपमा व्यवहार गर्छन् भने, तिनीहरूले तिमीहरूलाई कसरी व्यवहार गर्ने छन् भनी तिमीहरू विचार गर्छौ ?” 26 “ती मानिसहरूसँग भयभीत नहोओ । ढाकेर राखिएका हरेक कुरा उदाङ्गो पारिने छन्, र हरेक गुप्‍त कुराको जनकारी गराइने छ । 27 यसैले, डराउनुको साटोमा, मानिसहरूले रातमा गर्ने कामजस्‍तो जे म तिमीहरूलाई गुप्‍तमा भन्छु, मानिसहरूले दिनमा गर्ने कामजस्‍तो त्‍यो तिमीहरूले खुल्‍लमखुल्‍ला भन । मानिसहरूले तिमीहरूसँग कानेखुशी गरेजस्‍तो जे म तिमीहरूलाई एकान्‍तमा भन्छु, त्‍यो तिमीहरूले खुल्‍लमखुल्‍ला घोषणा गर । 28 तिमीहरूको शरीरलाई मार्न सक्‍ने तर तिमीहरूको आत्मालाई नाश गर्न नसक्‍ने मानिसहरूबाट नडराओ । त्यसको सट्टोमा, परमेश्‍वरको भय मान, किनभने उहाँले तिमीहरूका शरीर र आत्मा दुवैलाई नरकमा नाश गर्न सक्‍नुहुन्छ । 29 भँगेराहरूको बारेमा विचार गर । तिनीहरू यति थोरै मूल्यका छन् कि तिमीहरूले एक रुपैँयामा तीमध्‍ये दुईवटा किन्‍न सक्छौ । तर कुनै पनि भँगेरा भुईँमा खसेर मर्दा, स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पितालाई त्‍यो थाहा हुन्छ, किनभने उहाँलाई हरेक कुरा थाहा छ । 30 उहाँलाई तिमीहरूको बारेमा पनि हरेक कुरा थाहा छ । तिमीहरूको शिरमा कतिवटा रौंहरू छन् भन्‍ने कुरा पनि उहाँलाई थाहा छ ! 31 परमेश्‍वरले भँगेराहरूभन्दा बढी तिमीहरूलाई मूल्यवान ठान्‍नुहुन्छ । यसैले तिमीहरूलाई मार्ने धम्की दिने मानिसहरूदेखि नडराओ ! 32 मनिसहरूले तिनीहरू मेरा हुन् भनी अरूहरूलाई भन्‍ने इच्छा गर्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताको अघि तिनीहरू मेरा हुन् भनी म पनि स्वीकार छु । 33 तर अरूहरूका सामु तिनीहरू मेरा हुन् भन्‍न तिनीहरू डराउँछन् भने, स्वर्गमा हुनुहुने मेरा पितालाई तिनीहरू मेरा होइनन् भनी म भन्‍ने छु । ” 34 “मानिसहरूलाई मिलापमा एकसाथ बसोबास गर्ने बनाउनलाई म पृथ्वीमा आएको हुँ भनी नसोच । म आएको कारणले, मेरो पछि आउनेहरूमध्‍ये कोही मर्ने छन् । 35 म पृथ्‍वीमा आएकोले मलाई विश्‍वास नगर्ने मानिसहरू मलाई विश्‍वास गर्नेहरूका विरुद्धमा खडा हुने छन् । उदाहरणको लागि, कोही छोराहरूले आफ्‍ना बुबाहरूको विरोध गर्ने छन्, कोही छोरीहरूले आफ्‍ना आमाहरूको विरोध गर्ने छन् र कोही बुहारीहरूले आफ्‍ना सासूहरूको विरोध गर्ने छन् । 36 यसले यो देखाउँछ कि, कहिलेकाहीँ कही व्‍यक्तिका शत्रुहरू उसका आफ्नै घरानाका सदस्यहरू हुने छन् । 37 मलाई प्रेम गर्नेभन्दा बढी मनिसहरूले आफ्‍ना बुबाहरू र आमाहरूलाई प्रेम गर्छन् भने तिनीहरू मेरो हुन योग्य हुँदैनन् । मलाई प्रेम गर्नेभन्दा बढी मनिसहरूले आफ्‍ना छोराहरू र छोरीहरूलाई प्रेम गर्छन् भने तिनीहरू मेरो हुन योग्य हुँदैनन् । 38 तिमीहरू मेरो भएको कारणले तिमीहरू मर्न तयार हुँदैनौ भने, तिमीहरू मेरो हुन योग्यका हुँदैनौ । 39 मर्नबाट उम्‍कनको लागि ममाथिको विश्‍वासलाई इन्‍कार गर्ने मानिसहरू अनन्तकालसम्म परमेश्‍वरसँग बसोबास गर्ने छैनन्, तर मलाई विश्‍वास गरेको कारणले आफ्‍नो जीवनहरू गुमाउन तयार हुने मनिसहरू अनन्तकालसम्म परमेश्‍वरसँग बसोबास गर्ने छन् ।” 40 “तिमीहरूलाई स्वागत गर्ने हरेकले मलाई स्वागत गर्छ भनी परमेश्‍वर ठान्‍नुहुन्छ, र मलाई स्वागत गर्ने हरेकले मलाई पठाउनुहुने, उहाँलाई स्वागत गर्छ भनी उहाँ ठान्‍नुहुन्छ । 41 तिनी अगमवक्‍ता हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने - अगमवक्‍ताहरूले परमेश्‍वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन् । त्यसरी नै, धर्मी हुन् भनी जानेको कारणले कसैलाई स्वागत गर्ने मानिसहरू छन् भने – धर्मी मनिसहरूले परमेश्‍वरबाट पउने इनाम नै तिनीहरूले पनि पाउने छन् । 42 यो ध्‍यान देओः मानौं, तिमी एक प्रतिष्‍ठित व्‍यक्ति नभए तापनि, मानिसहरूले तिमीलाई मेरो चेलाहरूमध्‍ये एक हौ भनी चिनेको करणले तिनीहरूले तिमीलाई तिर्खाएको देख्‍छन् र चिसो पानी पिउन दिन्छन् । त्‍यसो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्‍चय पनि इनाम दिनुहुने छ ।