अध्याय ९

1 अब येशू त्यही बाटो हुँदै जानुहुँदा उहाँले जन्मैदेखिको एक जना अन्धो मानिसलाई देख्‍नुभयो । 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्‍यो, यो मानिसले, कि यसका आमाबुबाले, जसको कारण यो अन्धो जन्मियो?” 3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले, तर परमेश्‍वरका कामहरू त्यसमा प्रकट होस् भनेर यसो भएको हो । 4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदैछ, जब कसैले पनि काम गर्न सक्‍नेछैन । 5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।” 6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटोको हिलो बनाउनुभयो, अनि त्यो हिलो त्यसका आँखामा पोतिदिनुभयो । 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको’) ।" त्यसैले त्यो मानिस गयो, धोयो र देख्‍ने भएर आयो । 8 त्यसपछि त्यस मानिसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले यसो भन्दै थिए, “बसेर भिख माग्‍ने के यही होइन?” 9 केहीले भने, “यो त्यही हो ।” अरूहरूले भने, “होइन, तर यो त्यहीजस्तो छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।” 10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?” 11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटोको हिलो बनाउनुभयो र त्यो मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ, अनि मैले मेरो द‍ृष्‍टि पाएँ ।” 12 तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन्? ” त्यसले जवाफ दियो, “मलाई थाहा छैन ।” 13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए । 14 अब येशूले माटोको हिलो बनाएर त्यसको आँखा खोल्नुभएको दिन विश्रामको दिन थियो । 15 तब त्यसले आफ्नो द‍ृष्‍टि कसरी प्राप्‍त गरेको थियो भनी फरिसीहरूले फेरि त्यसलाई सोधे । त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा माटोको हिलो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।” 16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनभने यसले विश्रामको दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिन्‍हहरू कसरी गर्न सक्छ?” त्यसैले तिनीहरूका बीचमा विभाजन आयो । 17 त्यसकारण तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।” 18 अब आफ्नो द‍ृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले द‍ृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने त्यसको विषयमा यहूदीहरूले अझै विश्‍वास गरेनन् । 19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिंदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?” 20 त्यसैले त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिंदै अन्धो थियो भनी हामी जान्दछौं । 21 अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौं, र यसका आँखा कसले खोलिदियो सो हामी जान्दैनौं । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैं बोल्न सक्छ । 22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । किनकि यदि कसैले उहाँलाई ख्रीष्‍ट भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट बाहिर निकालिनेछ भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए । 23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने । 24 त्यसैले जो अघि अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौं यो मानिस पापी हो ।” 25 तब त्यस मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।” 26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदियो?” 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकें, अनि तपाईंहरूले सुन्‍नुभएन! तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?" 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं । 29 हामी जान्दछौं, कि परमेश्‍वर मोशासँग बोल्नुभएको छ, तर त्यो कहाँबाट आएको हो, हामी जान्दैनौं ।” 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “यो त अचम्म भो, कि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, तरै पनि उहाँले मेरा आँखा खोलिदिनुभो । 31 हामी जान्दछौं, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कसैले परमेश्‍वरको आराधना गर्छ, र उहाँको इच्छा पूरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ । 32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । 33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।” 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदैछस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए । 35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?” 36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकूँ?” 37 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उनलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही नै हो ।” 38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो । 39 येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन् तिनीहरू अन्धा होऊन् ।” 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौं त?” 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर अब तिमीहरू ‘हामीले देख्छौं’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहिरहन्छ ।"