अध्याय ८

1 येशू जैतून डाँडामा जानुभयो । 2 बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो । 3 शास्‍‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍‍त्री ल्याए । तिनीहरूले त्यसलाई बीचमा राखे । 4 त्यसपछि तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्‍‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे । 5 अब व्यवस्थामा मोशाले हामीलाई यस्ता मानिसहरूलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यसको विषयमा तपाईं के भन्‍नुहुन्छ?” 6 तिनीहरूले उहाँलाई फसाउनलाई यसो भने, ताकि तिनीहरूसित उहाँलाई दोस लगाउने केही कुरा हुन सकोस्, तर येशू निहुरेर आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो । 7 जब तिनीहरूले उहाँलाई निरन्तर प्रश्‍नहरू सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये जो पापरहित छौ, त्यसलाई ढुङ्गाले हान्‍ने त्यही नै पहिलो होस् ।” 8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो । 9 जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍‍त्रीसँग येशू एक्‍लै छोडिनुभएको थियो । 10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिम्रो निन्दा गरेनन्?” 11 त्यसले भनी, “कसैले गरेनन् प्रभु ।” येशूले भन्‍नुभयो, “न त म तिमीलाई निन्दा गर्छु । जाऊ, र कुनै पाप नगर ।” ] 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्‍याउँछ, त्यो अन्धकारमा हिंड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।” 13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैं आफ्नो बारेमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य होइन ।” 14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले आफ्नै बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु भनेर, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरू जान्दैनौ । 15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ; म कसैको न्याय गर्दिनँ । 16 तैपनि मैले न्याय गरें भने मेरो न्याय सत्य हुन्छ, किनभने म एक्‍लै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु । 17 हो, र दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ । 18 मेरो बारेमा गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।” 19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न त मलाई न मेरा पितालाई चिन्छौ; यदि तिमीहरूले मलाई चिनेका भए तिमीहरूले मेरा पितालाई पनि चिन्‍नै थियौ ।” 20 उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो, र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन । 21 त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु; तिमीहरूले मलाई खोज्‍नेछौ र आफ्ना पापमा मर्नेछौ । जहाँ म जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।” 22 यहूदीहरूले भने, “के यिनले आफैंलाई मार्नेछन्? के त्यसैले यिनले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छन्?” 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ; म माथिको हुँ । तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ । 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ । किनकि "म हुँ" भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ ।” 25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे मैले तिमीहरूलाई सुरुदेखि भनेको छु। 26 मैले तिमीहरूका बारेमा धेरै भन्‍नु र न्याय गर्नु छ । तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ; र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्‍दछु ।” 27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरूले बुझेनन् । 28 येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेका हुन्छौ "म हुँ", र म आफैं केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्दछु । 29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्दछु ।” 30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे । 31 येशूले उहाँमा विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ; 32 र तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍‍त्र पार्नेछ ।” 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौं र कहिल्यै कसैको दास भएका छैनौं; ‘तिमीहरू स्वतन्‍‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ?” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो । 35 दास सधैंभरि घरमा रहँदैन; पुत्र भने सधैंभरि रहन्छ । 36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्‍‍त्र पार्छ भने तिमीहरू साँच्‍चै स्वतन्‍‍त्र हुनेछौ । 37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ; तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन । 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्‍दछु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुन्यौ त्यही गर्छौ ।” 39 तिनीहरूले उहाँलाई जवाफ दिए र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ । 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् । 41 तिमीहरू आफ्ना पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौं; हाम्रा एक पिता हुनुहुन्छः परमेश्‍वर ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ र यहाँ छु; किनकि म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । 43 तिमीहरू मेरा वचन किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनभने त्यसमा सत्य छैन । जब त्यसले झूट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनभने त्यो झूटो र झूटको पिता हो । 45 म सत्य बोल्दछु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ । 46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्दछु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ? 47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरका वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।” 48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनेर के हामी ठिकै भन्दैनौं?” 49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्दछु, र तिमीहरू मलाई अनादर गर्छौ । 50 म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ । 51 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।” 52 यहूदीहरूले उहाँलाई भने, “अब हामीले थाहा पायौं, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे; तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’ 53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैंचाहिं को हुँ भनी ठान्छौ?” 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैंले आफ्नो महिमा गर्दछु भने मेरो महिमा केही होइन; मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ—जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भन्छौ । 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्दछु भने म तिमीहरूजस्‍तै झूटा हुनेछु । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु । 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए; तिनले यो देखे, र खुसी भए ।" 57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र तिमीले अब्राहामलाई देखेका छौ?” 58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदैछु ।” 59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे, तर येशू आफैं लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।