अध्याय ५

1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो । 2 अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् । 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । 1 4 2 5 त्यहाँ अठ्तिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो । 6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभएपछि, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?” 7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई तलाउमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” 8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान लेऊ, र हिंड ।” 9 त्यो मानिस तुरुन्तै निको भयो, र त्यसले आफ्नो ओछ्‍यान उठायो, र हिंड्‍यो । अब त्यो विश्रामको दिन थियो । 10 त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्‍यान बोकेर हिंड्ने अनुमति छैन ।” 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो ओछ्‍यान उठाऊ र हिंड’।” 12 तिनीहरूले त्यसलाई भने, “तिमीलाई ‘यो उठाऊ र हिंड’ भन्‍ने त्यो मानिस को हो?” 13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यस ठाउँमा भीड लागेको थियो । 14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ! अब फेरि पाप नगर, ताकि तिमीमाथि झन् खराबी आइनपरोस् ।” 15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुन्थ्यो भनी त्यसले यहूदीहरूलाई बतायो । 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो । 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।” 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो । 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ । 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ । 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् । 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ, 23 ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेको छ, र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन् । 26 किनकि जसरी पिता आफैंसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि उनी आफैंसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन् । 28 यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्‍नेछन्, 29 र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्‍ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति । 30 म आफैंले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनभने मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु । 31 यदि म आफैंले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन । 32 मेरो बारेमा गवाही दिनुहुने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ । 33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्यको गवाही दिएका छन् । 34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाटको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्दछु । 35 यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ । 36 तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् । 37 मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ । 39 तिमीहरू धर्मशास्‍‍त्रहरूमा खोज्छौ, किनभने तिनीहरूमा तिमीहरूको निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्छौ, र यी नै धर्मशास्‍‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ। 41 म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, 42 तर म जान्दछु, तिमीहरू आफैंमा परमेश्‍वरको प्रेम छैन । 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई ग्रहण गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ । 44 तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ, तिमीहरू जसले एक अर्कोबाट महिमा स्वीकार गर्छौ तर एक मात्र परमेश्‍वरबाट आउने महिमा खोजिरहेका छैनौ? 45 पिताको सामु तिमीहरूलाई म आफैंले दोष लगाउँनेछु भन्‍ने नसोच । तिमीहरूलाई दोष लगाउने त मोशा हुन् जसमा तिमीहरूले आशा राखेका छौ । 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनभने तिनले मेरो विषयमा लेखे । 47 यदि तिमीहरूले तिनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरूमा कसरी विश्‍वास गर्छौ?”


1उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए
2उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो ।