1 जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो, 2 (यद्यपि येशू आफैंले बप्तिस्मा दिंदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिंदै थिए) 3 उहाँले यहूदिया छोड्नुभयो र फेरि गालीलतिर फर्केर जानुभयो । 4 तर उहाँ सामरिया भएर जानु आवश्यक थियो । 5 त्यसैले उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो । 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्नुभएको थियो र इनारको छेउमा बस्नुभयो । प्रायः छैठौं घडी भएको थियो । 7 एक जना सामरी स्त्री पानी लिन आई, र येशूले त्यसलाई भन्नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” 8 किनकि उहाँका चेलाहरू खानेकुरा किन्न सहरतिर गएका थिए । 9 त्यसपछि सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्त्रीसँग कसरी केही पिउने कुरा मागिरहनुभएको छ?” किनकि यहूदीहरूले समारीहरूसँग केही सम्बन्ध राख्दैनन्। 10 येशूले त्यसलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई र ‘मलाई पिउन देऊ’ भनी तिमीलाई भनिरहने को हो भनी चिनेकी भए, तिमीले उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए ।” 11 स्त्रीले उहाँलाई जवाफ दिई, “महाशय, तपाईंसित उघाउने भाँडो छैन, र इनार गहिरो छ । तब तपाईंसँग जिउँदो पानी कहाँ छ त? 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्दा महान् हुनुहुन्छ जसले हामीलाई इनार दिनुभयो र आफैंले पनि यही इनारबाट पिउनुभयो र उहाँका सन्तानहरू र उहाँका गाईवस्तुहरूले पनि पिए?” 13 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ, 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको फोहरा बन्नेछ ।” 15 स्त्रीले उहाँलाई भनी, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म तिर्खाउनेछैनँ र यहाँ पानी लिन आउनुपर्नेछैनँ ।” 16 येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो लोग्नेलाई बोलाऊ, र यहाँ फर्केर आऊ ।” 17 स्त्रीले उहाँलाई जवाफ दिई र भनी, “मेरो लोग्ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्ने छैन’ भनी तिमीले साँचो भन्यौ । 18 किनकि तिम्रा पाँच जना लोग्ने भइसकेका छन्, र अहिले जो तिमीसँग छन्, त्यो तिम्रो लोग्ने होइन । तिमीले जे भनेकीछ्यौ, त्यो साँचो हो ।” 19 स्त्रीले उहाँलाई भनी, “महाशय, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म देख्छु । 20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्थान यरूशलेम नै हो भनी तपाईंहरू भन्नुहुन्छ ।” 21 येशूले त्यसलाई भन्नुभयो, “हे नारी, मलाई विश्वास गर । त्यो बेला आउँदैछ जब तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ । 22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौं, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट आउँछ । 23 तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् , किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ । 24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” 25 स्त्रीले उहाँलाई भनी, “(ख्रीष्ट भनिने) मसीह आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा छ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।” 26 येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही हुँ ।” 27 त्यही बेला उहाँका चेलाहरू फर्किआए । अब उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ?” भनी कसैले भनेन । 28 त्यसैले त्यस स्त्रीले आफ्नो गाग्रो छोडी, सहरतिर फर्केर गई र मानिसहरूलाई भनी, 29 “आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै कुराहरू मलाई बताइदिनुभयो । उहाँ ख्रीष्ट हुन सक्दैन, हुन सक्छ त?” 30 तिनीहरू सहरबाट निस्के र उहाँकहाँ आए । 31 त्यसैबेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।” 32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जसको बारे तिमीहरू जान्दैनौ ।” 33 त्यसैले चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र?” 34 येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो । 35 के तिमीहरू भन्दैनौ, 'अझ चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् । 36 जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । 37 किनकि 'एउटाले छर्छ र अर्काले कटनी गर्छ' भन्ने यो भनाइ यसैमा साँचो छ । 38 मैले तिमीहरूलाई त्यो कटनी गर्न पठाएँ जसको लागि तिमीहरूले काम गरेका छैनौ। अरूहरूले काम गरेका छन्, र तिमीहरू तिनीहरूका श्रममा प्रवेश गरेका छौ ।” 39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी ती स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरका धेरै सामरीहरूले उहाँमा विश्वास गरे । 40 त्यसैले जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई आफूहरूसँग बस्न आग्रह गरे, र उहाँ त्यहाँ दुई दिन बस्नुभयो । 41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्वास गरे । 42 तिनीहरूले ती स्त्रीलाई भने, “ अब तिमीले भनेका कुराले गर्दा हामी विश्वास गरेका होइनौं , किनकि हामी आफैंले सुनेका छौं र हामी जान्दछौं, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्छ ।” 43 त्यसको दुई दिनपछि उहाँ त्यहाँबाट गालील प्रस्थान गर्नुभयो । 44 किनकि येशू आफैंले घोषणा गर्नुभयो, कि अगमवक्तालाई त्यसको आफ्नै गाउँमा आदर हुँदैन । 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए । 46 अब उहाँ गालीलको काना सहरमा फेरि आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थियो । 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनको मर्न लागेको छोरोलाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे । 48 तब येशूले तिनलाई भन्नुभयो, “चिन्हहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।” 49 ती अधिकारीले उहाँलाई भने, “हजुर, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” 50 येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे । 51 तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे । 52 त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्वरोले छोड्यो ।” 53 त्यसपछि ती बुबाले महसुस गरे कि यो त्यही घडी थियो जब येशूले तिनलाई “तिम्रो छोरो बाँच्छ” भन्नुभएको थियो । त्यसैले तिनीले र तिनका सम्पूर्ण घरानाले विश्वास गरे । 54 येशू यहूदियाबाट गालीलमा आउनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिन्ह थियो ।