22

1 त्‍यसपछि येशूले यहूदी अगुवाहरूलाई अरू दृष्‍टान्तहरू भन्‍नुभयो । यो तिनै दृष्‍टान्‍तहरूमध्येको एउटा हो । 2 “स्‍वर्गबाट परमेश्‍वरले गर्नुहुने राज्‍य एकजना राजा जस्तै हो जसले आफ्‍नो छोराको निम्ति भोज तयार पार्नलाई आफ्ना सेवकहरूलाई भने । 3 जब भोज तयार भयो, तब राजाले निम्‍तो दिएका मानिसहरू विवाह भोजमा आउने समय भयो भनी तिनीहरूलाई खबर गर्न आफ्ना सेवकहरूलाई पठाए । सेवकहरू गए र मानिसहरूलाई भने । तर निम्‍तो पाएका मानिसहरू आउने इच्‍छा गरेनन् । 4 यसैले राजाले तीनै मानिसहरूलाई भोजमा आउन बोलाउनलाई फेरि पनि अरू सेवकहरूलाई पठाए । तिनले ती नोकरहरूलाई भने, ‘मैले निम्तो दिएको मानिसहरूलाई भोजमा आउन यसो भन, “राजाले तपाईंहरूलाई यसो भन्‍नुहुन्‍छ, ‘मैले भोज तयार परेको छु । गिरुहरू र मोटा बाछाहरू मारिएका छन् र पकाइएको छ । हरेक कुरा तयार छ । अब तपाईंहरू विवाह भोजमा आउने समय भयो !’ ” ’ 5 तर जब सेवकहरूले तिनीहरूलाई त्‍यसो भने, तब सेवकहरूले भनेका कुरालाई तिनीहरूले वेवस्‍ता गरे । तिनीहरूमध्ये कोही आफ्‍ना खेतबारीमा गए । अरूहरू आफ्नाै व्यापारका ठाउँहरूमा गए । 6 तिनीहरूमध्‍ये बाँकीले राजाका सेवकहरूलाई पक्रे, तिनीहरूलाई दुर्व्यवहार गरे र तिनीहरूलाई मारे । 7 राजाले जब त्‍यहाँ भएको घटनाको बारेमा सुने, तिनी क्रोधित भए । तिनले आफ्‍ना सिपाहीहरूलाई जाने र ती हत्याराहरूलाई मार्ने र तिनीहरूको सहरलाई जलाई दिन हुकुम गरे । 8 तिनका सिपाहीहरूले त्यसो गरिसके पछि, राजाले आफ्‍ना अरू सेवकहरूलाई भने, ‘मैले विवाहको भोज तयार पारेको छु, तर निम्तो पाएका मानिसहरू यसमा आउन योग्य ठहरिएनन् । 9 यसैले मूलबाटोका चोकहरूमा जाओ । जसलाई तिमीहरू भेट्टाउँछौ, तिनीहरूलाई विवाह भोजमा बोलाओ ।’ 10 यसैले सेवकहरू त्‍यहाँ गए, र तिनीहरूले भेट्टाएका हरेकलाई भेला गरे । तिनीहरूले खराब र असल दुवैथरी मानिसहरूलाई जम्‍मा गरे । तिनीहरूले मानिसहरूलाई घरमा ल्याए जहाँ विवाह भोज हुनै लागेको थियो । घर मानिसहरूले खचाखच भरियो । 11 तर जब राजा पाहुनाहरूलाई हेर्न घरमा पुगे, तिनले त्यहाँ विवाह भोजमा आउने पाहुनाहरूलाई उपलब्‍ध गराइएको वस्‍त्र नलगाइ आएको कोही एकजना मान्‍छेलाई देखे । 12 राजाले उसलाई भने, ‘मित्र, तिमी विवाह भोजमा प्रवेश नगर्नुपर्त्‍यो किनभने पहुनाहरूले विवाह भोजमा लगाउने वस्‍त्र तिमीले लगाएका छैनौ ! त्यो मानिसले केही भनेन किनभने के भन्‍ने हो भनी उसलाई थाहा नै भएन । 13 त्‍यसपछि राजाले आफ्ना सेवकहरूलाई भने, ‘यस व्‍यकिको हात र खुट्टाहरूलाई बाँध र उसलाई बाहिर अँध्यारोमा फाल जहाँ पूर्ण अन्‍धकार छ, जहाँ मानिसहरू आफ्‍ना असह्‍य पीडाको कारणले रुन्छन् र आफ्‍ना दाह्रा किट्छन् ।’” 14 तब येशूले भन्‍नुभयो, “यो दृष्‍टान्तको अर्थ यही थियो कि परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँकहाँ आउनलाई निम्तो दिनुभएको छ, तर थोरै मानिसहरू मात्र छन् जसलाई उहाँले त्‍यहाँ हुनलाई चुन्‍नुभएको छ ।” 15 येशूले त्‍यसो भन्‍नुभएपछि, फरिसीहरू अगुवाहरूले उहाँलाई कसरी केही कुरा भन्‍न लगाउने जसले गर्दा उहाँलाई दोष लगाउन तिनीहरू सक्षम हुनेछन् भनी योजना गर्ने उदेश्‍यले तिनीहरूले एकआपसमा भेटे । 16 तिनीहरूले आफ्ना चेलाहरूमध्‍ये केहीलाई हेरोदी समूहका साथमा उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरज्‍यू, तपाईं सत्‍यवादी हुनुहुन्‍छ भनी हामी जान्‍दछौं र हामीले के गरौं भन्‍ने परमेश्‍वरको इच्‍छा छ त्‍यसको बारेमा तपाईंले सत्‍य सिकाउनुहुन्‍छ । तपाईंको बारेमा जसले जे भने पनि, तिनीहरू जस्‍तोसुकै व्‍यक्तिहरू भए तापनि तपाईंले जे सिकाउनुहुन्छ त्यो फेर्नुहुन्‍न भन्‍ने पनि हामीलाई थाहा छ । 17 यसैले यस बारेमा तपाईं के विचार गर्नुहुन्‍छ हामीलाई भन्‍नुहोस् : हामीले रोमी सरकारलाई करहरू तिर्नु ठिक छ वा छैन ?” 18 तर तिनीहरूले गर्न लागेको वास्‍तविक कुरा खराब थियो भनी येशूलाई थाहा थियो । उहाँले केही कुरा भन्‍नुभएको होस् भन्‍ने तिनीहरूको इच्‍छा गर्दै थिए जसले उहाँलाई कि यहूदी अधिकारीहरूसित वा रोमी अधिकारीहरूसित समस्‍यामा हुनेछ । यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कपटीहरू हौ; मैले केही भनोस् जसको लागि तिमीहरूले मलाई दोष लगाउन सक भन्‍ने तिमीहरू इच्‍छा गर्छौ । 19 मानिसहरूले रोमीलाई कर तिर्ने सिक्‍काहरूमध्‍ये एउटा मलाई लेऊ !” यसैले तिनीहरूले उहाँलाई दिनार नामको एउटा सिक्‍का देखाए । 20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो सिक्‍कामा कसको तस्बिर छ ? र यसमा कसको नाम छ ?” 21 तिनीहरूले जावफ दिए, “यसमा रोमी सरकारका प्रमुख, कैसरको तस्बिर र नाम छ ।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसैले सरकारलाई जे आवश्‍यक छ त्यो तिनीहरूलाई देओ र परमेश्‍वरलाई जे आवश्‍यक छ त्‍यो उहाँलाई देओ ।” 22 जब येशूले त्‍यसो भन्‍नुभएको ती मानिसहरूले सुने, उहाँको जवाफले कसैले पनि उहाँलाई दोष लगाउन नसकेको हुनाले तिनीहरू आश्‍चर्य चकित भए । तब तिनीहरूले येशूलाई छाडे । 23 त्यसै दिन केही सदुकीहरू पनि येशूकहाँ आए । तिनीहरू यहूदीका एक छुट्टै समूह हुन्, जसले मानिसहरूको मृत्यु भएपछि तिनीहरू फेरि जीवित हुन्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन् । तिनीहरूले येशूलाई सोधे, 24 “गुरुज्यू, मोशाले धर्मशास्‍त्रमा यस्तो लेखे, ‘सन्‍तान नभएको एकजना मानिसको मृत्‍यु भयो भने, मृतकको विधवाले बालक जन्माउन सकोस् भनेर मृतकको भाइले तिनलाई विवाह गर्नुपर्छ । बालकचाहिं मृतको सन्तान मानिनेछ, र यसरी मृत मानिसको सन्‍तानहरू हुनेछ ।’ 25 एउटा परिवारमा सातजना छोराहरू थिए । जेठोचाहिंले कसैलाई विवाह गर्‍यो । ऊ र उसकी पत्‍नीले कुनै सन्तान जन्‍माएनन् र ऊ मर्‍यो । यसैले माइलो भाइले विधवालाई विवाह गरे । तर ऊ पनि बालक नभई मर्‍यो । 26 साइलो भाइको पनि त्यस्तै भयो, र अरू चारजना दाजुभाईको पनि त्‍यस्‍तै भयो जसले एकपछि अर्को गर्दै यही विधवालाई विवाह गरे । 27 सबै भन्दापछि त्यो स्‍त्रीको पनि मृत्‍यु भयो । 28 यसैले, परमेश्‍वरले मानिसहरूलाई मृत्‍युबाट जीवित पार्नुहुने समयमा, तपाईंको विचारमा सातजना दाजुभाइमध्ये कुनचाहिं तिनको पति हुनेछ ? यो याद गर्नुहोस् कि तिनीहरू सबैको विवाह तिनीसँग भएको थियो । 29 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले जे सोच्दैछौ त्‍यसमा तिमीहरू निश्‍चितरूपमा गलत छौ । धर्मशास्‍त्रमा के लेखिएको छ त्यो तिमीहरू जान्‍दैनौ । मानिसहरूलाई फेरि जीवित पार्न सक्‍ने शक्‍ति परमेश्‍वरसँग छ भनेर पनि तिमीहरू जान्‍दैनौ । 30 साँचो कुरा यो हो कि ती स्‍त्री कसैको पनि पत्‍नी हुने छैनन्, किनभने परमेश्‍वरले सबै मृत मानिसहरूलाई जीवित पार्नुभएपछि, कुनै व्‍यक्तिले पनि विवाह गर्नेछैन । त्यसको साटोमा, मानिसहरू स्वर्गका स्‍वर्गदूतहरू जस्‍ता हुनेछन् । तिनीहरूले विवाह गर्दैनन् । 31 तर मृत मानिसहरू फेरि जीवित हुने कुराको बारेमा परमेश्‍वरले केही कुरा भन्‍नुभयो । तिमीहरूले त्‍यो पढेका छौ भन्‍ने कुरामा म निश्‍चिन्त छु । अब्राहाम, इसहाक, र याकूबको मृत्‍यु भएको लामो समयपछि परमेश्‍वरले मोशालाई भन्‍नुभयो, 32 ‘म अब्राहामले आराधना गर्ने परमेश्‍वर, इसाहकले आराधना गर्ने परमेश्‍वर, र यकूबले आराधना गर्ने परमेश्‍वर हुँ !’ मृत मानिसहरूले परमेश्‍वरको आराधना गर्दैनन् । जीवित मानिसहरूले मात्र उहाँको आराधना गर्छन् । यसैले तिनीहरूका आत्मा अझै जीवित छन् भन्‍नेमा हामी निश्‍चित छौं !” 33 जब मानिसहरूका भीडहरूले येशूले त्‍यसरी सिकाउनुभएको सुने, तिनीहरू छक्‍क परे । 34 तर जब येशूले सदुकीहरूलाई यसरी जवाफ दिनुभयो कि उहाँलाई जवाफ दिनलाई सदुकीहरूले कुनै शब्द विचार नै गर्न सकेनन् भन्‍ने फरिसीहरूले सुने, उहाँलाई के भन्‍ने भनी योजना गर्न फरिसीहरू एकसाथ भेला भए । त्‍यसपछि तिनीहरू उहाँकहाँ आए । 35 तिनीहरूमध्ये एकजना मानिस वकिल थिए जसले परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था राम्रोसँग अध्ययन गरेका थिए । तिनले येशूसँग बहस गर्ने इच्‍छा गरे । तिनले उहाँलाई सोधे, 36 “गुरुज्यू, परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थामा भएका आज्ञाहरूमध्ये कुनचाहिं सबभन्‍दा बढी महत्त्‍वपूर्ण छ ?” 37 येशूले जवाफ दिनुहुँदा उहाँले यो धर्मशास्‍त्र बोल्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा अन्तस्करणले प्रेम गर्नुपर्छ, आफ्‍ना सारा इच्छाले, आफ्‍ना सारा अनुभूतिले र आफ्‍ना सारा विचारले उहाँलाई प्रेम गर्ने कुरा देखाउपर्छ ।” 38 परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाको यो नै सबभन्‍दा महत्त्‍वपूर्ण आज्ञा हो । 39 हरेकले पालन गर्नैपर्ने दोस्रो महत्त्‍वपूर्ण आज्ञाचाहिं यो होः ‘तैंले सम्पर्कमा आएका सबै मानिसहरूलाई आफैंलाई प्रेम गरे जस्तै प्रेम गर्नुपर्छ ।’ 40 मोशाले धर्मशास्‍त्रमा लेखेका हरेक आज्ञा र र अगमवक्‍ताहरूले लेखेका सबै कुराहरूको सार यिनै दुई आज्ञाहरू हुन् ।” 41 फरिसीहरू अझै पनि येशूको नजीक एकसाथ भेला भएका थिए । उहाँले तिनीहरूलाई सोध्‍नुभयो, 42 “ख्रीष्‍टको बारेमा तिमीहरू के विचार गर्छौ ? उहाँ कसको वंशको हुनुहुन्छ ?” तिनीहरूले उहाँलाई भने, “उहाँ दाऊद राजाका वंश हुनुहुन्छ ।” 43 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊद राजाका वंशका हुन् भने, पवित्र आत्माले दाऊदलाई ‘प्रभु’ भन्‍न अगुवाइ गर्नुहुँदा तिनले उहाँलाई यसो नभन्‍नुपर्ने हो । 44 दाऊदले ख्रीष्‍टको बारेमा धर्मशास्‍त्रमा यस्तो लेखेः ‘परमेश्‍वरले मेरो प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने बहुलीतर्फ मेरै छेउमा बस जहाँ म तिमीलाई उच्‍च आदर गर्नेछु, जतिबेला म तिम्रा शत्रुहरूलाई तिम्रा पउमुनि राख्‍नेछु ।”’ 45 यसैले दाऊद राजाले नै ख्रीष्‍टलाई, ‘मेरो प्रभु’ भन्‍छन् भने, ख्रीष्‍ट दाऊदको सन्तान मात्र हुन सक्‍दैनन् ! उहाँ दाऊदभन्‍दा महान हुनुपर्छ !” 46 येशूको जे भन्‍नुभयो त्‍यो सुनेका कसैले पनि उहाँलाई जवाफ फर्काउन एक शब्द पनि सोच्‍न सकेनन् । त्यसपछि, उहाँलाई अप्‍ठेरोमा पार्नलाई उहाँलाई अर्को प्रश्‍न सोध्‍ने सहास कसैले पनि गरेन ।