1 हरेक प्राणी उच्च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् । 2 यसकारण जसले उक्त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्वरको आज्ञाको विरोध गर्छ; र जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय ल्याउनेछन् । 3 किनकि असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीको स्वीकृति पाउनेछौ । 4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन् । 5 यसकारण क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ । 6 यसकारण तिमी कर पनि तिर्छौ । किनकि अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन् । 7 तिर्नु पर्ने सबैलाई तिरः कर तिर्नुपर्नेलाई कर तिर र महसुल दिनुपर्नेलाई महसुल देऊ, डर मान्नुपर्नेको डर मान, इज्जत गर्नुपर्नेलाई इज्जत गर । 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । 9 आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” 10 प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो । 11 यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै आएको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ । 12 रात बितिसकेको छ, र दिन नजिकै आइपुगेको छ । त्यसकारण अन्धकारका कामहरू त्यागौं, र ज्योतिका हातहतियार धारण गरौं । 13 मोजमज्जा वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौं; अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा, र झगडा वा ईर्ष्यामा नहिंडौं । 14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीरका कामवासनाहरूलाई सन्तुष्ट पार्न, शरीरको निम्ति कुनै स्थान नदेऊ ।