1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौं, कि तपाईं परमेश्वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले पनि गर्न सक्दैन जबसम्म परमेश्वर त्यससँग हुनुहुन्न ।” 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्वरको राज्य देख्न सक्दैन ।” 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? त्यो दोस्रो पल्ट त्यसकी आमाको गर्भमा पस्न, र जन्मन सक्दैन, सक्छ त? 5 येशूले जवाफ दिनुभयो, “साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माबाट नजन्मेसम्म त्यो परमेश्वरको राज्यमा पस्न सक्दैन । 6 जो शरीरबाट जन्मेको हो त्यो शरीर हो, र जो आत्माबाट जन्मेको हो त्यो आत्मा हो । 7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान । 8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ, तर यो कहाँबाट आउँछ वा कतातिर गइरहेको छ तिमी जान्दैनौ । आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।” 9 निकोदेमसले जवाफ दिए र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्?" 10 येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? 11 साँचो साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीं भन्छौं, र हामीले जे देखेका छौं, त्यसैको गवाही दिन्छौं । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ । 12 यदि मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनें र तिमीहरू विश्वास गर्दैनौ भने, मैले स्वर्गका कुराहरू भनें भने तिमीहरूले कसरी विश्वास गर्छौ? 13 स्वर्गबाट ओर्लिआउनुभएका—मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन । 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, 15 ताकि उहाँमाथि विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् । 16 किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् । 17 किनकि परमेश्वरले यस संसारलाई दोषी ठहराउनलाई आफ्ना पुत्र पठाउनुभएन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो । 18 जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिंदैन, तर जसले उहाँमाथि विश्वास गर्दैन त्यो अगि नै दोषी ठहरिएको छ, किनभने त्यसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन । 19 न्यायको कारण यही होः ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए किनभने तिनीहरूका कार्यहरू दुष्ट थिए । 20 किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । 21 तापनि सत्य अभ्यास गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्वरमा गरिएका त्यसका कामहरू स्पष्टरूपमा प्रकट होऊन् । 22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो । 23 अहिले यूहन्नाले पनि सालीम नजिकैको एनोनमा बप्तिस्मा दिइरहेका थिए किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू तिनीकहाँ आइरहेका थिए र बप्तिस्मा लिंदै थिए, 24 किनकि यूहन्ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् । 25 तब त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबीच शुद्ध हुने विधिको विषयमा विवाद भयो । 26 तिनीहरू यूहन्नाकहाँ गए र तिनलाई भने “रब्बी, यर्दन नदीको पारिपट्टि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनुभएको छ, र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।” 27 यूहन्नाले जवाफ दिए, “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्त गर्न सक्दैन । 28 ‘म ख्रीष्ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’ भनेर मैले भनें भनी तिमीहरू आफैं गवाही दिन सक्छौ । 29 दुलहीचाहिं दुलहाको नै हो । अब दुलहाको छेउमा खडा हुने र तिनको आवाज सुन्ने तिनको साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पूरा तुल्याइन्छ । 30 उहाँ बढ्नुपर्छ तर म घट्नुपर्छ । 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्वीबाटको हो त्यो पृथ्वीकै हो, र पृथ्वीको बारेमा बोल्छ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ । 32 उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन । 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्वर सत्य हुनुहुन्छ भन्ने पुष्टि गरेको छ । 34 किनकि परमेश्वरले जसलाई पठाउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले आत्मा नापतौल गरेर दिनुहुन्न । 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । 36 पुत्रमाथि विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्नेछैन, तर त्यसमाथि परमेश्वरको क्रोध रहन्छ ।”