1 जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ । 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं । 3 किनकि परमेश्वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् । 4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि यो संसारलाई जित्ने विजय हाम्रो विश्वास हो । 5 संसारमाथि विजय हासिल गर्ने को हो? त्यही हो, जसले येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ । 6 उहाँ उही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयोः येशू ख्रीष्ट । उहाँ पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो । 7 किनकि गवाही दिनेहरू तीन छन्ः 8 आत्मा, पानी र रगत अनि यी तीनै सहमत हुन्छन् । 1 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । 10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झूटा बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन । 11 अनि गवाही यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । 12 जससँग पुत्र छ, त्यससँग जीवन छ। जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन । 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्ने तिमीहरूले जान्न सक—तिमीहरू जसले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्छौ । 14 साथै, उहाँको सामुन्ने हामीसँग भएको दृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ । 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं । 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्याउँदैन । मृत्युमा पुर्याउने पाप छ; त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ । 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्याउने पाप पनि हुन्छ । 18 हामी जान्दछौं, कि जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन । तर जो परमेश्वरबाट जन्मेको छ, परमेश्वरले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन । 19 हामी जान्दछौं, कि हामी परमेश्वरबाटका हौं, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ । 20 तर हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्न सकौं । साथै हामी उहाँमा छौं जो सत्य हुनुहुन्छ अर्थात् उहाँका पुत्र येशू ख्रीष्ट । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ । 21 बालकहरू हो, तिमीहरू आफैंलाई मूर्तिहरूबाट अलग राख ।