1 बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्ट हुनुहुन्छ । 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । 3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्छौं । 4 जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्य हुँदैन । 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यसमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्ने हामी यसैद्वारा थाहा पाउँछौंः 6 जसले परमेश्वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ । 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्टमा र तिमीहरूमा सत्य छ, किनभने अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ । 9 जसले आफू ज्योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्धकारमा नै छ । 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठेस लाग्ने कुनै कारण हुँदैन । 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा नै हुन्छ र अन्धकारमा हिँड्छ; त्यो कहाँ गइरहेको छ भनी त्यसले थाहा पाउँदैन, किनभने अन्धकारले त्यसका आँखा अन्धो तुल्याएको छ । 12 बालकहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूका पाप उहाँको नाउँको खातिर क्षमा गरिएका छन् । 13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्दैछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूले दुष्टलाई जितेका छौ । बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ । 14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरू दुष्टमाथि विजय भएका छौ । 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन । 16 किनकि संसारमा भएका सबै थोकहरू—शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी—पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् । 17 संसार र यसका इच्छाहरू बितेर जाँदैछन् । तर जसले परमेश्वरको इच्छाअनुसार गर्छ, त्यो सदासर्वदा रहिरहन्छ । 18 बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुनेझैं, अहिले धेरै ख्रीष्ट विरोधीहरू आएका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौं । 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हामीबाटका थिएनन् । किनकि यदि तिनीहरू हामीबाटका भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए । तर जब तिनीहरू हामीबाट बाहिर गए, यसले तिनीहरू हामीबाटका होइनन् भन्ने देखायो । 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबै कुरा जान्दछौ । 21 तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झूट सत्यबाट नआउने हुनाले हो । 22 येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने इन्कार गर्नेबाहेक झूटा अर्को को हुन्छ? त्यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ । 23 पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न । पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ । 24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ । 25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा अर्थात् अनन्त जीवन यही हो । 26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु । 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्यो सत्य हो र झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो । 28 अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस् र उहाँको आगमनमा उहाँको सामु लज्जित हुनु नपरोस् । 29 यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्ने तिमीहरूले जान्दछौ ।