1 तिनीहरूसँग यसो भन्दै येशू दृष्टान्तमा बोल्नुभयो, 2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे । 3 तिनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् । 4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’ 5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी र अर्को आफ्नो व्यवसायतिर लाग्यो । 6 अरूहरूले चाहिं राजाका नोकरहरूलाई पक्रे, तिनीहरूसँग लाजमर्दो व्यवहार गरे र तिनीहरूलाई मारे । 7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए, ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए । 8 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् । 9 त्यसैले तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’ 10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले विवाहको घर पाहुनाहरूले भरियो । 11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको तिनले देखे । 12 राजाले त्यसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन । 13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’ 14 किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।” 15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए । 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्न, र मानिसहरूका बीचमा तपाईंले पक्षपात गर्नुहुन्न । 17 त्यसैले हामीलाई भन्नुहोस् कि तपाईं के भन्नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?” 18 तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो, र भन्नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन परीक्षा गर्दछौ? 19 कर तिर्ने सिक्का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए । 20 येशूले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?" 21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ ।” 22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे । त्यसपछि तिनीहरू उहाँलाई छोडेर त्यहाँबाट गए । 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भन्दथे । तिनीहरूले उहाँलाई सोधे, 24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष सन्तान नजन्माईकन मर्यो भने, त्यसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।' 25 अब हाम्रो बीचमा सात जना दाजुभाइ थिए । पहिलोले विवाह गरेपछि मर्यो । कुनै पनि सन्तान नभएकोले त्यसले आफ्नी पत्नी आफ्नो भाइलाई छोडेर गयो । 26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौं भाइसम्म यस्तै हुँदै गयो । 27 तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी । 28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिंको पत्नी हुनेछ? किनकि तिनीहरू सबैले त्यससँग विवाह गरिसकेका थिए ।" 29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ । 30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्छन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् । 31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ? 32 ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ ।’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।” 33 जब भीडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे । 34 तर येशूले सदुकीहरूलाई चूप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू एकसाथ भेला भए । 35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको परीक्षा गर्दै एउटा प्रश्न सोधे, 36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिं कुन हो?” 37 येशूले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू । 38 योचाहिं महान् र पहिलो आज्ञा हो । 39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैंले आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर्नू ।’ 40 सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षामा यी दुईवटा आज्ञामाथि आधारित छन् ।” 41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो । 42 उहाँले भन्नुभयो, “तिमीहरू ख्रीष्टको बारेमा के विचार गर्छौ? ख्रीष्ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।” 43 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिंदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे? 44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस' ।" 45 यदि दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्छन् भने, तिनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” 46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन ।