अध्याय १३

1 अब यो निस्तार-चाड अगिको समय थियो । येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो । यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो । 2 अब बेलुकीको भोजन हुँदा शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो । 3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो र उहाँ परमेश्‍वरबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो । 4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो । 5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो । 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुन लाग्दै हुनुहुन्छ?” 7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।” 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” 9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर पनि धोइदिनुहोस् ।” 10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन, तर त्यो पूर्ण रूपमा शुद्ध छ; तिमीहरू शुद्ध छौ, तर सबै त छैन ।” 11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्नेछ भन्‍ने येशूलाई थाहा थियो; त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै शुद्ध छैनौ ।” ) 12 त्यसैले जब येशूले तिनीहरूका गोडा धुनुभयो र आफ्नो लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ? 13 तिमीहरू मलाई ‘गुरुज्यू’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनभने म त्यही हुँ । 14 तब म प्रभु र गुरुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक । 16 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, सेवक आफ्नो मालिकभन्दा ठुलो हुँदैन; न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ । 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, र ती गर्छौ भने तिमीहरू धन्यका हौ । 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु— तर यो यसैले हो, कि धर्मशास्‍‍त्र पूरा होस्ः 'मेरो रोटी खानेले ममाथि आफ्नो लात उठायो ।' 19 अब यो हुन अगि म तिमीहरूलाई भन्दछु, ताकि जब यो हुन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक । 20 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ ।" 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो । उहाँले गवाही दिनुभयो र भन्‍नुभयो, “साँ‍चो, साँचो, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछौ ।” 22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गरे । 23 उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, तिनी टेबुलमा येशूको छातीमा अडेस लागेर ढल्किरहेका थिए । 24 सिमोन पत्रुसले त्यस चेलालाई इसारा गरे र भने, “उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ उहाँलाई सोध।” 25 त्यसैले तिनी येशूको छातीमा अडेस लागेर ढल्किए र उहाँलाई भने, “प्रभु, त्यो को हो?” 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसैले उहाँले रोटीको टुक्रा चोप्‍नुभएपछि त्यो सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो । 27 तब रोटी पाएपछि शैतान त्यसभित्र पस्यो, त्यसैले येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।” 28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभयो भनी त्यहाँ टेबुलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन । 29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई केही दिनुपर्छ भन्‍नुभएको भन्‍ने सोचे । 30 यहूदाले रोटी पाएपछि, त्यो तुरुन्तै बाहिर निस्कियो । यो रातको समय थियो । 31 जब यहूदा गयो, येशूले भन्‍नुभयो, “अब मानिसका पुत्र महिमित हुनुभएको छ, र उनमा परमेश्‍वरको महिमा भएको छ । 32 यदि परमेश्‍वर उनमा माहिमित हुनुहुन्छ भने, परमेश्‍वरले आफैंमा पुत्रलाई पनि महिमित पार्नुहुनेछ, र उहाँले उनलाई तुरुन्तै महिमित पार्नुहुनेछ । 33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । तिमीहरूले मलाई खोज्‍नेछौ, र मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई पनि यो भन्दछु, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’ 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ । 35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गरेका छौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् । 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदैछु, तिमी मलाई अहिले पछ्‍याउन सक्दैनौ, तर तिमीले पछि पछ्‍याउनेछौ ।” 37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्‍याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।” 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो, म तिमीलाई भन्दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्‍म भाले बास्‍नेछैन ।”