1 अब लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए । तिनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए । 2 यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछिन्, जसका भाइ लाजरस बिरामी थिए । 3 त्यसपछि यी दिदीहरूले येशूकहाँ यसो भनी पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिमारी छन् ।” 4 जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिमारीले मृत्युमा पुर्याउँदैन, तर बरु यो परमेश्वरको महिमाको निम्ति हो, ताकि परमेश्वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।” 5 अब येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो । 6 त्यसैले जब येशूले लाजरस बिरामी भएको सुन्नुभयो, येशू अरू दुई दिन त्यही ठाउँमा बस्नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो । 7 यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी फेरि यहूदियातिर जाऔं ।” 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्न खोजिरहेका छन् र तपाईं फेरि त्यहीं फर्केर जाँदै हुनुहुन्छ?” 9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिंड्छ भने त्यसलाई ठेस लाग्नेछैन, किनभने त्यसले यस संसारको ज्योतिले देख्छ । 10 यद्यपि त्यो राति हिंड्छ भने त्यसलाई ठेस लाग्नेछ, किनभने त्यसमा उज्यालो हुँदैन ।” 11 उहाँले यी कुराहरू भन्नुभयो, र त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्, तर म जाँदैछु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।” 12 यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन् ।” 13 अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको थियो भन्ने तिनीहरूले सोचे । 14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभयो, “लाजरस मरेका छन् । 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्वास गर्न सक । हामी तिनीकहाँ जाऔं ।” 16 दिदुमस भनिने थोमाले तिनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔं, ताकि हामी येशूसँगै मर्न सकौं ।” 17 जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो । 18 अब बेथानिया यरूशलेमबाट नजिकै करिब तीन किलोमिटर दूरीमा पर्थ्यो । 19 धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए । 20 त्यसपछि जब मार्थाले येशू आउँदै हुनुहुन्थ्यो भन्ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिं घरमा नै बसिरहेकी थिइन् । 21 त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन । 22 अहिले पनि म जान्दछु, कि तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।” 23 येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ ।” 24 मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित हुनेछ” । 25 येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ; 26 र जो जिउँछ र ममा विश्वास गर्छ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ?” 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्छु कि तपाईं ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउँदै हुनुहुन्छ ।” 28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र आफ्नी बहिनी मरियमलाई सुटुक्क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् । 30 अब येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् । 31 त्यसैले तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनी चिहानमा रुन जाँदै थिइन् भन्ने सोचेर तिनीहरू तिनको पछि लागे । 32 जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।” 33 जब येशूले तिनीलाई रोइरहेकी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेका देख्नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो; 34 उहाँले भन्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” 35 येशू रुनुभयो । 36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!” 37 तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि मर्नदेखि रोक्न सक्दैनथ्यो र?” 38 त्यसपछि फेरि येशू आत्मामा आफैंभित्र अति विचलित भएर चिहानमा जानुभयो । अब यो एउटा गुफा थियो, र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो । 39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि त्यो मरेको चार दिन भइसक्यो ।” 40 येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ?” 41 त्यसैले तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले मेरो बिन्ती सुन्नुभयो । 42 म जान्दथें कि तपाईंले मेरो बिन्ती सधैं सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भीडको कारण मैले यो भनें, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।” 43 उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ!” 44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, र त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।” 45 त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो देखेका धेरै यहूदीहरूले उहाँमा विश्वास गरे । 46 तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए । 47 त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिन्हहरू गर्छन् । 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौं भने सबैले यसलाई विश्वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।” 49 यद्यपि तिनीहरूमध्ये कैयाफा नामका एक जना मानिस, जो त्यस वर्ष प्रधान पूजाहारी थिए, तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 50 सम्पूर्ण जाति नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मानिस मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्ने तिमीहरू ठान्दैनौ ।” 51 अब यो तिनले आफ्नै तर्फबाट भनेनन् । बरु तिनी त्यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरे; 52 र जातिको निम्ति मात्र होइन, तर छरपष्ट भएका परमेश्वरका सन्तानहरूसँगै एक होऊन् भनेर हो । 53 त्यसैले त्यस दिनदेखि तिनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाए । 54 येशू अब यहूदीहरू माझ खुल्लमखुल्ला हिंड्डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्नुभयो । 55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र धेरै जना आफैंलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए । 56 तिनीहरूले येशूलाई खोजिरहेका थिए, र तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कासित यसो भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?” 57 अहिले मुख्य पूजाहारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाए भने, त्यसले त्यो भन्नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।