1 सुरुमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्वर हुनुहुन्थ्यो । 2 उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो । 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै एक थोक पनि उहाँबिना बनिएन । 4 उहाँमा जीवन थियो,र त्यो जीवन मानिसहरूको ज्योति थियो । 5 ज्योति अन्धकारमा चम्किन्छ, र अन्धकारले त्यसलाई जितेन । 6 परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो । 7 तिनीद्वारा सबैले विश्वास गरून् भनेर तिनी ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए । 8 यूहन्ना ज्योति थिएनन्, तर तिनी ज्योतिको बारेमा गवाही दिन सकियोस् भनेर आए । 9 साँचो ज्योति जसले सबै मानिसहरूलाई ज्योति दिन्छ, उहाँ संसारमा आउँदै हुनुहुन्थ्यो । 10 उहाँ संसारमा हुनुहुन्थ्यो, र संसार उहाँद्वारा बनियो, र संसारले उहाँलाई चिनेन । 11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँका आफ्नैहरूले उहाँलाई स्वीकार गरेनन् । 12 तर जतिले उहाँलाई स्वीकार गरे, जसले उहाँको नाउँमा विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो । 13 यिनीहरू रगतद्वारा जन्मेका थिएनन्, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा, तर परमेश्वरद्वारा जन्मेका थिए । 14 वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देखेका छौं, महिमा जुन पिताबाट आउनुभएका एक मात्रको जस्तो, अनुग्रह र सत्यताले पूर्ण थियो । 15 यूहन्नाले उहाँको बारेमा गवाही दिए, र यसो भन्दै ठूलो सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको बारेमा मैले भनेको थिएँ, 'मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो।'” 16 किनकि उहाँको पूर्णताबाट हामीले सबै अनुग्रहमाथि अनुग्रह पाएका छौं । 17 किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आए । 18 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन; एक मात्र परमेश्वर जो पिताको छेउमा हुनुहुन्छ, उहाँले परमेश्वरलाई चिनाउनुभएको छ । 19 यूहन्नाको गवाही यही हो, जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई तिनीकहाँ “तिमी को हौ?” भनी सोध्न पठाए । 20 तिनले स्वीकारे—तिनले इन्कार गरेनन्, तर स्वीकारे—“म ख्रीष्ट होइनँ ।” 21 त्यसकारण तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” तिनले भने, “ म होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्ता हौ?” तिनले जवाफ दिए, “होइनँ ।” 22 तब तिनीहरूले तिनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं? तिमी आफ्नै बारेमा के भन्छौ?” 23 तिनले भने, “यशैया अगमवक्ताले भने जस्तै, म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँः ‘परमप्रभुको बाटो सोझो बनाओ’ ।” 24 अब फरिसीहरूबाट ती पठाइएकाहरू थिए, 25 र तिनीहरूले तिनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता हौ भने तिमी किन बप्तिस्मा दिन्छौ?” 26 यूहन्नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ, 27 उहाँ जो मपछि आउनुहुन्छ, म उहाँको जुत्ताको फित्ता खोल्न लायकको छैनँ ।” 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए । 29 अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा! 30 उहाँ उही हुनुहुन्छ जसको बारेमा मैले भनें, ' मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो । 31 म उहाँलाई चिन्दिनथें, तर उहाँलाई इस्राएलमा प्रकट गर्न सकियोस् भनी म पानीले बप्तिस्मा दिंदै आएँ ।” 32 यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले आत्मा स्वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखें । 33 मैले उहाँलाई चिनिनँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि आत्मा ओर्लिरहनुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्नेछौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ ।’ 34 मैले दुवै देखेको, र गवाही दिएको छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ ।” 35 फेरि, अर्को दिन, यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, 36 तिनीहरूले येशू त्यही बाटो भएर हिंडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा!” 37 तिनका दुई चेलाले तिनले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए । 38 तब येशू फर्कनुभयो र तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्दै हुनुहुन्छ?” 39 उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ र हेर ।” तब तिनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे; त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनकि दसौं घडी हुन लागेको थियो । 40 यूहन्नाले भनेको सुन्ने र त्यसपछि येशूलाई पछ्याउने यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका दाजु अन्द्रियास थिए । 41 अन्द्रियासले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र तिनलाई भने, “हामीले मसीह (जसको अर्थ हो, ख्रीष्ट) लाई भेट्टाएका छौं।” 42 तिनले तिनलाई येशूकहाँ ल्याए । अनि येशूले तिनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ हो, पत्रुस ) भनिनेछ । 43 अर्को दिन, जब येशूले गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्टाउनुभयो र तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” 44 अब फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो । 45 फिलिपले नथानेललाई भेट्टाए र तिनलाई भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौंः योसेफका पुत्र, नासरतका येशूलाई ।” 46 नथानेलले तिनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई भने, “आएर हेर!” 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र तिनको बारेमा भन्नुभयो, “हेर, एक सच्चा इस्राएली, जसमा कुनै छल छैन!” 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ?” येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी नेभाराको रुखमुनि हुँदा, मैले तिमीलाई देखें ।” 49 नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!” 50 येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।” 51 त्यसपछि उहाँले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ ।”