1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पूजाहारी हुनुहुन्छ जो स्वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ । 2 मानिसले बनाएको होइन, तर प्रभुले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ। 3 किनकि हरेक प्रधान पूजाहारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्यसकारण, केही कुरा चढाउन आवश्यक छ । 4 अब यदि ख्रीष्ट पृथ्वीमा हुनुभएको भए, उहाँ कदापि पूजाहारी हुनुहुने थिएन किनकि त्यहाँ व्यवस्थाअनुसार भेटी चढाउनेहरू छँदैछन् । 5 तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छाँयाको मात्र सेवा गर्छन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयोः परमेश्वरले भन्नुभयो, “हेर, पहाडमा तिमीलाई देखाइएको नमुनाबमोजिम हरेक थोक तिमीले बनाउनू ।” 6 तर अहिले ख्रीष्टले प्राप्त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ, जस्तो उहाँ पनि उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा आधारित छ। 7 किनकि त्यो पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्यकता नै पर्दैन थियो । 8 किनकि जब परमेश्वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्नुभयो, “हेर, ती दिन आउँदैछन्—परमप्रभु भन्नुहुन्छ— जब म इस्राएलका घराना र यहूदाका घरानाहरूसँग नयाँ करार स्थापना गर्नेछु । 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्तो हुनेछैन, जुन दिन जसरी मैले तिनीहरको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्याएर ल्याएँ । किनकि तिनीहरूले मेरो करारलाई होसियारीसाथ पछ्याएनन्, मैले तिनीहरूको बेवास्ता गरे— भनि परमप्रभु भन्नुहुन्छ । 10 परमप्रभु भन्नुहुन्छ— ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् । 11 तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्नो छिमेकीलाई र आफ्नो भाइलाई सिकाउनेछैनन् । किनकि तिनीहरूमध्येका, सानादेखि लिएर ठुलासम्म सबैले मलाई चिन्नेछन् । 12 किनकि तिनीहरूले गरेका दुष्ट कार्यहरूप्रति म कृपालु हुनेछु, र तिनीहरूका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।” 13 “नयाँ” भन्नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो, र जुन पुरानो र काम नलाग्ने भएको छ, त्यो चाँडै हराएर जानेछ ।