1 भ्रातृ-प्रेम बनिरहोस् । 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि यसैद्वारा थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका छन् । 3 तिमीहरू आफै पनि कैदीहरुसंगै बाँधिएजस्तै गरी तिनीहरूको सम्झना गर । तिमीहरू पनि शरीरमा दुर्व्यवहार गरिएकाहरूसंगै भएझैं तिनीहरूको सम्झना गर । 4 हरेकले विवाहलाई आदर गरोस् र विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन अनैतिक मानिसहरू र व्यभिचारीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ । 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्तुष्ट होओ, किनकि परमेश्वर आफैले भन्नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्नेछु ।” 6 हामी सन्तुष्ट होऔं ताकि हामी साहससाथ भन्न सकौं, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?” 7 तिमीहरूलाई परमेश्वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर । तिनीहरूका विश्वासको देखासिखी गर । 8 येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ । 9 विभिन्न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई नबहकाओस् । किनकि अनुग्रहद्वारा हाम्रो हृदय सुदृढ भएको असल हुन्छ, भोजनबाट होइन जसले त्यसअनुसार हिंड्नेहरूलाई सहायता गर्दैन। 10 हामीसँग एउटा वेदी छ, जसबाट बासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन । 11 किनकि पाप क्षमाका निम्ति प्रधान पूजाहारीद्वारा मारिएका पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो, तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्थ्यो । 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र तुल्याउनको खातिर सहरको ढोकाबाहिर दुःख भोग्नुभयो । 13 त्यसैले, हामी पनि उहाँको निन्दामा सहभागी हुँदै उहाँकहाँ छाउनीबाहिर जाऔं। 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवालाको प्रतीक्षामा छौं । 15 त्यसैले, उहाँद्वारा हामी सधैं परमेश्वरलाई प्रशंसाको बलिदान चढाऔ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो । 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं, किनकि यस्तै बलिदानहरूसँग परमेश्वर अति प्रसन्न हुनुहुन्छ । 17 तिमीहरूका अगुवाहरूको आज्ञा मान र अधीनमा बस, किनकि हिसाब गर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्छन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्दसाथ यो गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि उपयोगी छैन । 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी हामी निश्चित छौं र सबै कुरामा ठिक प्रकारले जिउन चाहन्छौं । 19 यो अझ धेरै गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु ताकि म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु । 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्वरले, 21 येशू ख्रीष्टद्वारा उहाँलाई प्रसन्न तुल्याउने काम हामीमा गर्दै उहाँको इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल कुराहरुले सुसज्जित पारून् । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन । 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु । 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्वतन्त्र पारिएका छन् । यदि तिनी छिट्टै आउँछन् भने, म तिमीहरूलाई तिनीसँगै देख्नेछु । 24 तिम्रा सबै अगुवाहरू र परमेश्वरका पवित्र जनहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।