1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैमा सत्य थोकहरू भने होइनन् । पूजाहारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन । 2 नत्रता, के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा शुद्ध पारिएका हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन । 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 4 किनभने साँढे र बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ । 5 जब ख्रीष्ट संसारमा आउनुभयो, उहाँले भन्नुभयो, “तपाईंले बलिदानहरू र भेटीहरू चाहनुभएन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ; 6 तपाईं होमबलि र पापबलिमा प्रसन्न हुनुभएन ।” 7 तब मैले भनेँ, “हेर्नुहोस्, मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पूरा गर्न म यहाँ छु ।” 8 उहाँले पहिला भन्नुभयो, “तपाईं न त बलिदानहरू, न भेटीहरू न सारा होमबलिहरू न पापबलिहरू चाहनुभयो न त ती कुराहरूमा तपाईं प्रसन्न हुनुभयो ।” यी त व्यवस्थाअनुसार चढाइएका बलिदानहरू हुन् । 9 तब उहाँले भन्नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पूरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ । 10 त्यहि इच्छाबाट, एकैचोटि सधैंका निम्ति येशू ख्रीष्टको शरीरको बलिदानद्वारा परमेश्वरमा हामी पवित्र तुल्याएका छौं । 11 दिनहुँ हरेक पूजाहारी खडा हुन्छन् र परमेश्वरलाई सेवा पुराउने काम गर्छन् । तिनले उस्तै बलिदान निरन्तर चढाइरहन्छन्— बलिदान जसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन । 12 तर जब, ख्रीष्टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाउनुभयो, उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो । 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुभएको छ । 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्वरमा पवित्र तुल्याएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 15 पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ । पहिला उहाँले भन्नुहुन्छ, 16 “ती दिनहरूपछि मैले तिनीहरूसँग बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ । म मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र ती तिनीहरूको मनमा लेखिदिनेछु ।” 17 फेरि उहाँ भन्नुहुन्छ, "म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।" 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 21 किनभने परमेश्वरको घरमा हामीसँग महान् पूजाहारी हुनुभएकोले 22 हाम्रो हृदयलाई अशुद्ध विवेकबाट छिट्काउद्वारा सफा गरेर र हाम्रा शरीरलाई शुद्ध पानीले धोएर विश्वासको सम्पूर्ण निश्चयतासाथ, हामी साँचो हृदय लिएर नजिक जाऔं। 23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने, उहाँ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई घ्यानपूर्वक विचार गरौं। 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौं, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौं भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तीन जना साक्षीको गवाहीमा दयाविना मर्छ । 29 तिमीहरुलाई के लाग्छ, परमेश्वरका पुत्रलाई खुट्टाले कुल्चने, आफूलाई पवित्र गरेको करारको रगतलाई अपवित्र ठान्ने र अनुग्रहको आत्मालाई अपमान गर्ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला? 30 किनकि यसो भन्नुहुनेलाई हामी जान्दछौं, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 31 जीवित परमेश्वरका हातमा पर्नु डरलाग्दो कुरा हो । 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्यौ, ती अघिका दिनहरूको सम्झना गर । 33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी हुँदैथियौ । 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ, र आफ्नो सम्पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्यौ । तिमीलाई यो थाहा थियो कि तिमीहरूसँग अझ उत्तम र रहिरहने आफ्नै सम्पत्ति छ । /f + /ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, /fqa म कैदमा हुँदा तिमीहरूले ममाथि दया देखायौ /fqa* । /f* 35 त्यसकारण, आफ्नो निश्चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ । 36 किनकि तिमीहरूलाई धैर्यको खाँचो छ ताकि तिमीहरूले परमेश्वरको इच्छालाई पुरा गरेपछि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्त गर्नेछौ । 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिला गर्नुहुनेछैन । 38 मेरा धर्मी जन विश्वासद्वारा जिउनेछ, यदि त्यो पछि फर्कन्छ भने, म त्योसँग प्रसन्न हुनेछैनँ ।” 39 तर हामी त्यस्ता होइनौं जो विनाशतिर फर्कन्छ, बरु ती मध्येका हौं जसमा विश्वास छ र आफ्ना प्राणहरू बचाइराख्छ।