1 छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ । 2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), । 3 “ताकि तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाँच्न सक ।” 4 बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, तिनीहरूलाई अनुशासनमा र प्रभुको शिक्षामा हुर्काओ । 5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैं तिनीहरूसँग आज्ञाकारी बन । 6 आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैं आज्ञाकारी बन, जसले आफ्ना हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर्छ । 7 मानिसहरूलाई सेवा पुर्याए झैं होइन, तर आफ्ना सारा हृदयले प्रभुको सेवा गरे झैं सेवा गर, 8 किनभने हामी यो जान्दछौं कि प्रत्येक मानिसले गर्ने जुनसुकै असल कामको निम्ति त्यसले प्रभुबाट इनाम पाउनेछ, चाहे त्यो दास होस् वा मुक्त होस् । 9 मालिकहरू हो, आफ्ना दासहरूलाई त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । तिमीहरूलाई थाहा छ कि तिनीहरू र तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा कुनै भेदभाव छैन । 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ । 11 परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानका धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाँइ शरीर र रगतको विरूद्धमा होइन, तर शासकहरू, अधिकारीहरू, यस वर्तमान समयको अन्धकारमाथिको शक्ति, स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिकी फौज विरूद्धमा हो । 13 यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि दुष्ट समयमा तिमीहरू खडा हुन सक र यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुन सक । 14 यसकारण सत्यताको कम्मरपेटी कसेर, धार्मिकताको छातीपाता लगाएर स्थिर होओ, 15 र आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गर। 16 सबै परिस्थितिहरूमा विश्वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निवाणहरू निभाउन सक्नेछौ । 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो । 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । अन्तमा परमेश्वरका पवित्र जनहरू सबैका लागि प्रार्थना गर्दा सारा लगनशीलताका साथ सधैं सतर्क भइराख । 19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । 20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ ताकि मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर बोल्न सकूँ । 21 तिमीहरूलाई म के गरिरहेको छु भनी थाहा होस् भन्नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्वासिलो सेवक तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् । 22 मैले तिनलाई तिमीहरूकहाँ यही उद्देश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्न सक र तिनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् । 23 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् । 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।