1 येशू ख्रीष्टका प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई, 2 येशू ख्रीष्टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू, तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् । 3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस्! उहाँको महान् दयामा, मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निश्चयताको लागि उहाँले हामीलाई नयाँ जन्म दिनुभएको छ । 4 यो उत्तराधिकारको लागि हो जुन नष्ट हुने छैन, दाग लाग्ने छैन, र बिलाएर जाने छैन। यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ । 6 अहिले तिमीहरूले धेरै विभिन्न किसिमका कष्टमा उदास अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा धेरै रमाउँछौ । 7 तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो । 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ । 9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिं तिमीहरूका प्राणको मुक्ति हो । 10 यही मुक्तिको विषयमा, तिमीहरूका निम्ति हुन आउने अनुग्रहको बारेमा अगमवाणी गर्ने अगमवक्ताहरूले लगनशीलतापूर्वक खोजतलास र ध्यानसित जाँच गरे, 11 यो जाँच गर्दै कुन व्यक्ति वा समयको बारेमा, तिनीहरूमा भएको ख्रीष्टको आत्माले अघि नै ख्रीष्टको कष्टहरू र त्यसपछि हुन आउने महिमाहरूको बारेमा साक्षी दिंदै हुनुहुन्थ्यो भनेर तिनीहरूले खोजी गरे । 12 यो तिनीहरूलाई प्रकट गरिएको थियो कि तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि सेवा गरिरहेका थिए जब तिनीहरूले स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूद्वारा तिमीहरूलाई बताइएको कुराहरू भने—जुन स्वर्गदूतहरूले हेर्न इच्छा गर्छन् । 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । सचेत होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख । 14 आज्ञाकारी छोराछोरीहरूजस्तै तिमीहरू अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा आफैलाई नसुम्प । 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनभने म पवित्र छु ।” 17 प्रत्येक व्यक्तिलाई त्यसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ । 18 तिमीहरूलाई थाहा छ, कि नष्ट भएर जाने चाँदी वा सुनबाट तिमीहरूले तिमीहरूका पितापुर्खाहरूबाट सिकेका मूर्ख बानीहरूबाट छुटकारा पाएका होइनौ । 19 बरु तिमीहरूले ख्रीष्टको अनमोल रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्थ्यो । 20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट गरिनुभएको छ । 21 तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो । 22 सत्यताप्रतिको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । यो निष्कपट भातृ-प्रेमको निम्ति थियो; त्यसैले हृदयबाट एक-अर्कालाई गहिरो प्रेम गर । 1 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट । 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका जंगली फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ, 25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।" यही वचन सुसमाचार हो जसलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।